
जनता समाजवादीका पार्टी (जसपा) छाडेर बुधवार नेकपा एमाले प्रवेश गरेका गैडहवा गाउँपालिका रूपन्देहीका निवर्तमान अध्यक्ष बच्चुलाल केवट बिहीवार पुनः जसपामै फर्किएका छन् । उनी जसपा प्रदेश कमिटी सदस्य थिए ।
बिहीवार केवटले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको असन्तुष्टिले एमालेमा प्रवेश गरेको तर, आफ्नो गल्ती स्वीकार गर्दै जसपामै फर्किएको जनाएका छन् । ‘पार्टीको आन्तरिक असहमतिका कारण असन्तुष्ट भएर एमालेमा लागेको थिएँ । पछि आत्मग्लानी भयो’, केवटले विज्ञप्तिमा लेखेका छन्, ‘पार्टीको कार्यकर्ता र नेतृत्वको माया देखेर पुनः पुरानै घर फर्किएको छु ।’
उनले आफूले गलत निर्णय लिएको र यसबाट कार्यकर्ता तथा शुभचिन्तकमा पर्न गएको असरको लागि माफी मागेका छन् । उनले अबका दिनमा जसपामै सक्रिय भएर लाग्नेसमेत प्रतिबद्दता जनाएका छन् ।
केवटलाई एमाले सचिव छविलाल विश्वकर्माले पार्टी प्रवेश गराएका थिए । अहिले उनले आफ्नो मोबाइल अफ गरेका छन् । जसपा जिल्ला अध्यक्ष रामअवतार यादवले केवटले आफ्नो गल्ती स्वीकार गरेर पार्टीमा फर्केको बताए ।
