
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
केही दिनदेखि देशभर डेंगु महामारीकैरूपमा फैलिइरहेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट हजारौ व्यक्ति प्रभावित भएका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्यासेजमा समेत बेड राखेर विरामीको उपचार गर्नुपर्ने अवस्था आएको अस्पतालले बताएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत डा श्रवणकुमार मण्डलका अनुसार भदौ १ गते यता अस्पतालमा डेंगुका बिरामीको चाप बढेको छ । डा मण्डलका अनुसार डेंगु तीन प्रकारका हुन्छन् । लामखुट्टेले टोकेपछि डेंगु फिभर डेंगु सक–सिण्ड्रोम, डेंगु हेमुरोजिक फिभरजस्ता रोग लाग्छन् ।
००००
डेंगु रोगको संक्रमण बढ्दै गएपछि सरकारले यसको नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको बैठकले डेंगु रोगको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ । यसका लागि सचेतनामूलक तथा सूचनामूलक श्रव्य तथा दृश्य सामग्री विभिन्न तह तथा माध्यमबाट प्रचारप्रसार गरिने छ ।
त्यस्तै, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाटसमेत रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वय तथा सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले मोबाइल रिंगटोनबाट समेत प्रचार–प्रसार गर्ने व्यवस्था मिलाउने, रोगको पहिचान र उपचारमा कमी हुन नदिन आवश्वक व्यवस्था मिलाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता माहादेव पन्थले जानकारी दिए ।
००००
नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने राष्ट्रिय टीमबाट निलम्बनमा परेका छन् । बलात्कार आरोपमा जाहेरी परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको हो ।
‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबरजस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ’, क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
००००
सत्ता गठबन्धनको सिट बाँडफाँटमा सहमति जुटाउन गठन भएको कार्यदलले बिहीबार शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको छ । हालसम्म भएका छलफलका निचोडका आधारमा प्रतिवेदन तयार गरेर शीर्ष नेतृत्वलाई बुझाइएको हो ।
बिहीबार दिनभरजसो प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदल र शीर्ष नेतृत्वको बैठक बसेको थियो । कार्यदलले गठबन्धनबीच सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको बताइएको छ ।
००००
मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।
बिहीबार स्वीकृत कार्यक्रम अनुसार असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तय गरिएको छ ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशमा राजदूत नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राष्ट्रपतिले हरिश्चन्द्र घिमिरेलाई म्यानमार र डिल्लीराज पौडेललाई मलेसियाका लागि नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरको विज्ञप्तिमा उल्लेख छ ।
००००
बेलायतकी महारानी एलिजाबेथको द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।उनको स्कटल्याण्डको बालमोरलमा निधन भएको बीबीसीले जनाएको छ । समाचारमा बकिङ्घम प्यालेसले पनि महारानी एलिजाबेथ द्वितीयको बालमोरलमा निधन भएको पुष्टि गरेको उल्लेख छ । ७० वर्ष सिंहासनमा बसेकी उनको शासनकाललाई बेलायतमा सबैभन्दा लामो मानिन्छ ।
००००
सर्वोच्च अदालतले निर्वाचन आयोगबाट राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चका सम्बन्धमा हद तोक्ने विषयमा भएका निर्णय झिकाउने आदेश गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले आज खर्चको सम्बन्धमा हद तोक्ने निर्णयको प्रतिलिपि लिई छलफलका लागि आउन आदेश गरेको हो । आदेशमा भनिएको छ, “निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शिताका लागि राजनीतिक दल र उम्मेदवारहरुले गर्ने निर्वाचन खर्चको महत्वपूर्ण भूमिका हुने भएकाले निर्वाचन ऐन, २०७३ को दफा २४ ले आयोगको निर्वाचनको खर्च हद तोक्ने छ भन्ने बाध्यात्मक व्यवस्था गरेको छ ।”
००००
रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावी तालमेल गर्ने भएको छ । त्यसका लागि बिहीबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न दल तथा उम्मेदवार बन्न योग्य व्यक्तिसँग संवाद, चुनावी तालमेल, कार्यगत एकता समेत गरी पार्टीको प्रारम्भिक निर्वाचन प्रक्रियामा सहभागी गराउन उच्च स्तरीय अधिकार सम्पन्न वार्ता समिति गठन गरेको छ ।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित उक्त समितिमा केन्द्रीय सदस्यहरु गणेश पराजुली, डा अरनिको कुमार पाँडे, सुमना श्रेष्ठ र गणेश कार्की सदस्य रहेको प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
००००
प्रहरी हिरासतमा रहेका स्ट्याण्डअप कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा रिहा गरिएको छ । उनलाई कोभिड संक्रमण देखिएपछि उपचार गराउनका लागि रिहा गरिएको हो ।
कुनै एक निश्चित समुदायको भाषा र संस्कारमाथि नकारात्मक टिप्पणी गरेको आरोप उनी भदौ १२ गते पक्राउ परेका थिए । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । बुधवार मात्रै प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप गरेको थियो ।
००००
काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन पत्राचार गरेको छ । महानगरपालिकाले कर नबुझाए दुवै सुरक्षा निकायसहित समाज कल्याण परिषदलाई पनि कारबाही गर्ने चेतावनीयुक्त पत्र पठाएको हो ।
महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई लखेको पत्रमा १० दिनभित्रमा वडा कार्यालयमा गई बहाल कर बुझाउन भनिएको छ ।
००००
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे बिहीवार स्वदेश फर्किएका छन् । पाँच दिने औपचारिक भ्रमणका क्रममा गएको आइतवार काठमाडौं आएका पाण्डे बिहीवार भ्रमण पूरा गरी स्वदेश फर्किएका हुन् ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी चुनावमा १०० सिटभन्दा कम लिएर चुनावमा जाँदा पार्टीभित्रै विद्रोह हुनसक्ने चेतावनी दिएका छन् ।
विपी जन्मजयन्तीको अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले जनकपुरमा बिहीवार आयोजना गरेको ‘विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
००००
आर्थिक वर्ष २०७९–०८० देखि निजामती सेवामा रिक्त पदहरूको पदपूर्ति गर्दा लोक सेवा आयोगले गर्ने विज्ञापनमा अंकभार परिवर्तन गर्ने भएको छ । लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बिहीवार विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका छन् ।
००००
विकासका लागि आवश्यक पूर्वाधारको प्रकृति र प्राथमिकता परिवर्तन भएको विज्ञहरूले बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को ‘इन्फ्रास्ट्रक्चर फर ग्रोथ– दी बिग पिक्चर पोस्ट कोभिड सिनारियोे’ सत्रमा विज्ञहरूले बदलिँदो परिवेशमा पूर्वाधारको प्राथमिकता र त्यसको माग गर्ने लगानीको मागमा फरकपन आएको बताए ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर संघर्षमा रहेको कारण प्रतिक्रियावादीहरूले प्रचण्डलाई सिध्याउनुपर्छ भन्ने अभिव्यक्ति दिइरहेको टिप्पणी गरेका छन् ।
२४औँ बासु स्मृति दिवसको अवसरमा बिहीवार पर्यटन बोर्डमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संघर्षबाट नभाग्ने र अन्तिमसम्म डटिरहने बताएका हुन् । निरन्तर संघर्ष गर्ने प्रतिबद्धता नै सुरेश वाग्लेप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै प्रचण्डले अहिले आफू भिन्नरूपमा संघर्षमा रहेको बताएका हुन् ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव १३ अंकले ओरालो लागेर १९३७.७४ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५४ अंकले ओरालो लागेर ३७६.८४ मा सीमित भएको छ ।