
झापामा राहदानीबाट १ वर्षमा ८ करोड ६५ लाख राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट ८ करोड ६५ लाख १५ हजार राजस्व संकलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए ।
सो अवधिमा ११ हजार ७४६ राहदानी बनाएको न्यौपानेले बताए । आव २०७७/७८ मा ६ हजार १८८ राहदानी बनाइएको थियो । जसबाट राजस्व ३ करोड ३५ लाख ३६ हजार, आव २०७६/७७ मा ३ करोड ८९ लाख ८५ हजार राजस्व संकलन भएको थियो ।
कोभिड–१९ शुरू भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरूपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको संख्या बढेको छ । उनका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा रहेका छन् । त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेका छन् ।