०४ असार २०८३, बिहीबार

दार्चुला बाढी पहिरो अपडेटः मृतक पाँचजनाको सनाखत, सात जना अझै बेपत्ता

दार्चुला बाढी पहिरो अपडेटः मृतक पाँचजनाको सनाखत, सात जना अझै बेपत्ता
फाइल तस्वीर

दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् । बाढी पहिरोमा परी सातजना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाका छन् । 

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ वर्षीया मानमती कार्की तथा नौगाड गाउँपालिका–१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर्षीय मोहनराम पार्की छन् । 

पहिरोमा परी नौगाड–४ का रामसिँह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते छन् । उनीहरूलाई सुर्खेतबाट आएको नेपाली सेनाको  हेलिकप्टरमा नौगाडबाट खलंगा हुँदै कैलालीको धनगढी लगिएको सहायक प्रजिअ साउदले जानकारी दिए । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारैजनालाई धनगढी लगिएको उनले बताए । 

यस्तै बाढी पहिरोमा बेपत्ता महाकाली नगरपालिकाको लास्कु र डुङरीका सात जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजी गरिरहेका छन् । बेपत्तामा महाकाली–३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरू दीपक र दिनेश तथा अन्य चारजना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्