
नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा गर्नुपर्छ भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । आफूले चार वर्ष अघि संसदमा नागरिकता विधेयक ल्याए पनि प्रचण्डले समितिमा सभापति रहेकी कार्यकर्तामार्फत विधेयक अड्काउने काम गरेको ओलीले आरोप लगाए ।
आइतवार पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नागरिकता विधेयक पारित हुन नदिने प्रचण्ड र वर्तमान गठबन्धन सरकार रहेको आरोप लगाए । ‘नागरिकता विधेयक मैले चार वर्ष अगाडि संसदमा पेश गरेको थिएँ, संसदीय समितिमा गएको विधेयक प्रचण्डले कार्यकर्तामार्फत रोकाएको रोकाई गरे । त्यसपछि मैले संविधानअनुसार अध्यादेश जारी गरेँ, संसद् छलेर अध्यादेश ल्याएको भन्दै उनीहरू अदालत पुगे । १४ महिनामा १३ महिना बसे, संसद् सकिने बेलामा जथाभावी गरे’, ओलीले भने, ‘राष्ट्रपतिले १५ वटा बुँदामा पुनर्विचार गर्नुस् भनेर संसदसमक्ष पठाउनु भयो । संसदमा आउन नपाई बाउन्सर भेला भए, बाउन्सरको भेलाले जस्ताको तस्तै फिर्ता गर्दिने भन्ने अहंकार देखाए । तीनै मध्येका एक –प्रचण्डले राष्ट्रपतिले राजीनामा गर्छु भन्छन् । प्रतिगामी तत्वले राजीनामा गर्नु पर्दैन ? वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेले राजीनामा गर्नु पर्दैन ?’
यसअघि शुक्रवार पोखरामा आयोजित कार्यक्रममा प्रचण्डले नागरिकता विधेयक रोकेमा राष्ट्रपतिले राजीनामा गर्नुपर्ने अवस्था आउने बताएका थिए । ओलीले तराई मधेशमा एमाले नागरिकता विधेयक विरोधी भनेर भ्रम फैलाउन खोजेको आरोप लगाए ।