
बलिउडकी विवादास्पद अभिनेत्री कंगना रनावतले शुक्रवार रिलीज भएको फिल्म ब्रह्मास्त्रको बक्स अफिस आँकडा झूटो भएको बताएकी छन् ।
फिल्मकर्मी लेखक इरे मृदुल केथरको ट्वीटलाई आफ्ना इन्स्टाग्राम स्टोरीमा शेयर गरी उनले ब्रह्मास्त्र कमजोर स्थितिमा रहेको बताएकी हुन् ।
फिल्मका सहनिर्माता करण जोहरले शनिवार ट्वीट गरी ब्रह्मास्त्रको विश्वव्यापी ओपनिङ कलेक्सन ७५ करोड भारु भएको जानकारी दिएका थिए ।
मृदुल केथरले ट्वीटमा ब्रह्मास्त्रको आँकडा तोडमरोड गरिएको बताए । उनले लेखे, ‘केही ट्रेड एनालिस्टहरू ब्रह्मास्त्रको सही बक्स अफिस आँकडा दिइरहेका छैनन् । झूटो आँकडा प्रस्तुत गर्नेहरूलाई टन्न पैसा दिने गरिएको छ । यो भारतको अहिलेसम्मको सबभन्दा ठूलो मेनिपुलेसन हुन सक्छ । ६० देखि ७० प्रतिशत आँकडा झूटो हो ।’
कंगनाले यस ट्वीटलाई स्टोरीमा शेयर गर्दै लेखिन्, ‘७० प्रतिशत । ब्रह्मास्त्रका लागि यो अधम स्तर हो ।’
बक्सअफिसइन्डिया डट्कमका अनुसार, भारतमा ब्रह्मास्त्रको ओपनिङ ३७ करोड भारु थियो भने दुई दिनमा फिल्मले ७६ करोड भारु कमायो ।
कंगनाले शनिवार ब्रह्मास्त्रको नेगेटिभ रिभ्युको स्क्रीनशट शेयर गर्दै लेखेकी थिइन्, ‘तपाईं झूटो कुरा पेल्ने कोशिश गर्नुहुन्छ भने मानिस बिस्तारै त्यस झूटमा विश्वास गर्न थाल्छन् । करण आफ्नो हरेक शोमा मानिसहरूलाई रणवीर आलिया सर्वोत्कृष्ट कलाकार भएको अनि अयान मुखर्जी जिनियस भएको बताउँछन् । तर वास्तवमा करणले ६०० करोड भारु यस्तो निर्देशकलाई दिए जसले आफ्नो करियरमा एउटा पनि राम्रो फिल्म बनाएको छैन ।’
अयानलाई जिनियस भन्ने मान्छेलाई जेलमा कोच्नुपर्ने पनि उनले बताइन् ।