
दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले तोरीको तेलको उत्पादन गर्ने भएको छ ।
दशैंअघिदेखि हेटौंडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेसनले जनाएको छ ।
तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोग गर्न पाउने कर्पोरेसनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए ।
कर्पोरेसनले अहिले आयोडिनयुक्त नून, एसटीसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङ गरी उपभोक्तामाझ पुर्याउँदै आएको छ । पछिल्लो ५ वर्षयता कर्पोरेसनको कारोबार निरन्तर बढिरहेको छ ।
आर्थिक वर्ष २०७३/७४ मा कर्पोरेसनले ८ अर्ब ५८ करोडको उपभोग्य वस्तुको बिक्री गरेको थियो । आव २०७४/७५ मा ९ अर्ब ६८ करोड, आव २०७५/७६ मा ८ अर्ब २५ करोड, आव २०७६/७७ मा ९ अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७/७८ मा १० अर्ब ३९ करोड रुपैयाँको उपभोग्य वस्तु बिक्री गरिएको कर्पोरेसनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिए ।
गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोबार बढ्दै गएको उनको भनाइ छ । बिक्री बढेसँगै कर्पोरेसनले वित्तीय अवस्थामा सुधार गर्दै लगेको छ । कर्पोरेसनले आव २०७७/७८ मा मात्रै ५ करोड ३३ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
गत आवको कारोबार एकीकृत गर्ने क्रममा रहेको कर्पोरेसनका विभागीय प्रबन्धक झाले बताए ।