०५ साउन २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

साना दललाई समेट्दै एमाले, सत्ता गठबन्धनमा भागबण्डा मिलाउन सकस

साना दललाई समेट्दै एमाले, सत्ता गठबन्धनमा भागबण्डा मिलाउन सकस

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
मंसिर ४ गतेका लागि घोषणा गरिएको निर्वाचनमा आमरूपमा सत्तारूढ गठबन्धन भर्सेस एमालेको प्रतिस्पर्धाजस्तो देखिन्छ । तर, एमालेले भने आगामी चुनावमा सत्तारूढ गठबन्धनभन्दा बाहिर रहेका साना दलहरूलाई समेटेर चुनावमा जाने तयारी गरिरहेको छ । 
समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने मिति नजिकिएको छ । असोज २ र ३ गते निर्वाचन आयोगमा बन्द सूची बुझाउनुपर्छ । त्यसअघि नै प्रत्यक्षतर्फ सिट बाँडफाँटको काम टुंगो लगाउने प्रयासमा साना दलहरू छन् । 
एमालेसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता प्रगतिशील पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल परिवार दललगायतका दलहरूले सहकार्यको प्रस्ताव गरेका छन् । 
साना दलका नेताहरूले एमाले नेतृत्वसँग चुनावी सहकार्यका लागि केही चरण छलफल पनि गरिसकेका छन् । सत्ता गठबन्धनसँग चुनावी सहकार्यको मनस्थितिमा रहेको लोसपाका नेताहरू बालुवाटार छाडेर चुनावी सहकार्यका लागि बालकोट धाउन थालेका छन् । 
भदौ २३ गते एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरका बीचमा भएको भेटमा दुई पार्टीले चुनावी सहकार्य गर्नेबारे मौखिक सहमति भएको छ । लोसपाले एमालेसँग कुल १९ सिटमा दाबी गरेको छ । तर, सिट बाँडफाँटमा भने सहमति भइसकेको छैन । 
मधेशमा तुलनात्मकरूपमा कमजोर रहेको एमालेले मधेश केन्द्रित दललाई चुनावी सहकार्यका लागि प्राथमिकतामा राखेको छ । लोसपाले माग गरेको सिटबारे छलफल भइरहेको एमालेका एक नेताले जानकारी दिए ।
००००
सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक बिनानिष्कर्ष टुंगिएको छ । सोमवार बिहानैदेखि गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा बैठकमा जुटेका थिए । बैठकमा यसअघि जस्तै सोमबार पनि सहमति जुट्न नसकेको नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘एउटै निर्वाचन क्षेत्रमा धेरै दलहरूको दाबी रहेको छ । त्यसमा सहमति जुटाएर गठबन्धनको एउटै उम्मेदवार तय गर्नुपर्छ । त्यसका लागि गठबन्धनमा रहेका दलहरू लचिलो हुन आवश्यक छ’, कार्कीले भने ।  
गठबन्धनका धेरैजसो नेताहरूले बालुवाटारमै खाना खाएर बैठकमा जुटेका थिए । बिहान ८ बजेदेखि १२ बजेसम्म बैठक बसेपछि नेताहरू खाना खाने ब्रेकमा गएका थिए । फेरि दिउँसो २ बजेबाट बसेको बैठक बिनानिष्कर्ष टुंगिएको मन्त्री कार्कीले बताए । 
गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलका सदस्यहरू पनि बैठकमा सहभागी भएका थिए । सत्तारूढ गठबन्धनमा रहेका दलहरूले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेलको सहमति गरेका छन् । तर, उनीहरूले सिट बाँडफाँट भने गर्न सकेको छैन ।
००००
नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा आएका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सु र सभामुख अग्नि सापकोटाले सोमवार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 
लि काठमाडौं ओर्लिएलगत्तै द्विपक्षीय भेटवार्ताको लागि नयाँबानेश्वरस्थित संसद् भवन पुगेका थिए । द्विपक्षीय प्रतिनिधि मण्डलको भेटवार्तापछि ६ बुँदे समझदारी भएको हो ।
००००
यसैबीच सापकोटाले ली चान्शुको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गरे।  सोमबार नै अध्यक्ष लि नेपाल आउँदा सापकोटा उनको स्वागतमा विमानस्थल पुगेका थिए । 
००००
काठमाडौँ महानगरपालिकाले सोमबार एकै दिन ४० बढी अवैध संरचना भत्काएको छ । अवैध रुपमा निर्माण भएका संरचना भत्काउन कामपाले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि यही भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरेको हो ।  
००००
राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीलतनिवासमा भएको भेटघाटका क्रममा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
००००
नेपाल वायुसेवा सञ्चालक संघले नेपाल आयल निगमले उपत्यकाबाहिरका विमानस्थलहरुमा पर्याप्त मात्रामा हवाइ इन्धन उपलब्ध नगराएको गुनासो गरेको छ । संघले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सोमबार एक पत्र लेख्दै  विमानस्थलहरुमा हवाई इन्धनको सहज र सरल उपलब्धताका लागि सम्बन्धित निकायमा यथाशीघ्र आवश्यक पहल गरी दिन अनुरोध गरेको छ ।
००००
मिटरब्याजी अपराध नियन्त्रणको उपाय सिफारिस गर्न बनेको कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ । साउन २७ गते गठन गरिएको कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले मन्त्री खाणलाई सोमवार अध्ययन प्रतिवेदन बुझाएका हुन् । 
समितिले बुझाएको प्रतिवेदनले २ हजार २८९ वटा मिटर ब्याजीविरुद्ध उजुरी परेको देखाएको छ । भदौ २६ गतेसम्म ५९ वटा उजुरीमा मिलापत्र भइसकेको, ७ वटा उजुरी अदालतमा मुद्दा दायर भएको र ७ वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
००००
निर्वाचन आयोगले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन आचारसंहिताविपरीतका गतिविधि हुन नदिन सुक्ष्म अनुगमनको व्यवस्था गरेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल र त्यसका उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता र कानूनविपरीतका गतिविधिहरू हुन नदिन आयोगले आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरेको बताए ।
००००
यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन आचारसंहिता कडाईका साथ लागू गर्न माग गरेको छ । निर्वाचन आयोगसँग आचारसंहिताको पूर्ण पालना गराउन माग गरेको हो माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने मन्त्रीलाई चुनाव प्रचारप्रसारमा अंकुश लगाउन नहुने बताए । 
००००
जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुको विकल्प नभएको बताएका छन् । संघीय संसदको दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको उक्त विधेयक संविधान र संसदीय सर्वोच्चताको मान्यताको आधारमा पनि राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुको विकल्प नरहेको उनले बताए ।

००००
वाणिज्य बैंकहरूको निक्षेपमा पछिल्लो एक सातामा सुधार भएको छ । नेपाल बैंकर्स संघले सोमवार जारी गरेको २४ भदौसम्मको तथ्यांकअनुसार बैंकहरूमा निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ । तथ्यांकअनुसार १७ भदौमा बैंकहरूमा ४४ खर्ब ३७ अर्ब रुपैयाँ रहेको निक्षेप बढेर त्यसपछिको एक सातामा यस्तो तथ्यांक ४४ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । 
००००
नेपाल सरकारले पाकिस्तानका बाढी प्रभावितलाई २ करोड बराबरको राहत सामग्री प्रदान गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमवार विज्ञप्ति जारी गर्दै भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले राहत प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।
००००
साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक ओरालो लागेको छ । सोमवार नेप्से सूचक १३.५४ अंकले घटेर १९१२.७४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंकले घटेको छ ।
००००
हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तले आगामी निर्वाचनमा सहकार्य गर्ने समझदारी गरेका छन् । सोमवार दुवै पार्टीका अध्यक्षले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्