
भोजपुरमा ५ देखि ११ वर्षका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाउने अभियान जिल्लामा अहिले पनि जारी रहेको छ ।
स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले साढे १६ हजार बालबालिकालाई कोरोनाविरुद्ध खोप दिएको जानकारी दिए । कोरोना रोकथामका लागि यहाँका हालसम्म १६ हजार ५२४ बालबालिकाले खोप लगाएका छन् ।
पहिला मात्र खोप लगाएकाहरूका लागि पुनः दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए । भदौ २७ गते दोस्रो चरणको अभियान शुरू भएको छ । खोपका लागि तोकिएको उमेर समूह विद्यालयमा बढी हुने भएकाले विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र कायम गरिएको छ ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा अहिलेसम्म १ लाख ७ हजार ७५४ जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । खोपबाट कोही वञ्चित नहोऊन् भन्नका लागि जिल्ला अस्पतालमा समेत हप्तामा १ दिन खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।