०७ असार २०८३, आइतबार

पूर्व प्रधानमन्त्री ओलीसँग चिनियाँ नेता ली चान्शुको भेटवार्ता

पूर्व प्रधानमन्त्री ओलीसँग चिनियाँ नेता ली चान्शुको भेटवार्ता

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले भेटवार्ता गरेका छन् ।

प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमवार काठमाडौं आइपुगेका हुन् ।

सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । अध्यक्ष लीले भदौ ३० गतेसम्म गर्ने ४ दिने औपचारिक भ्रमणका क्रममा मंगलवार बिहान राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग भेट गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलवार बिहान उनीहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

उनले भदौ २९ गते बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले मंगलवार अपराह्न शिष्टाचार भेटवार्ता गर्नेछन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेता लीले मंगलवार भेट गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि अध्यक्ष लीको मंगलवार भेटवार्ता हुनेछ ।

चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अध्यक्ष ली भ्रमण सम्पन्न गरी भदौ ३० गते बिहीवार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्