
सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) नेपालले आन्दोलन शुरु गरेको छ । हिस्टुनले मंगलवारदेखि आन्दोलन थालेको हो ।
आन्दोलनको पहिलो दिन देशैभरका हिस्टुनमा आवद्ध शिक्षकहरूले मंगलवार हातमा कालोपट्टी बाँधेर अध्यापन गराएका छन् । उनीहरूले भदौ २६ र २७ गते संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई माग सम्बोधनका लागि पहल गर्न भन्दै ज्ञापन-पत्र बुझाएका थिए ।
नेपालको संविधान २०७२ बमोजिम माध्यमिक विद्यालयसम्मको शिक्षा निःशुल्क भनिए पनि साविक उच्च माध्यमिक विद्यालयहरूले विद्यार्थीबाट चर्को शुल्क उठाउने गरेको हिस्टुनको आरोप छ । आन्तरिक स्रोतबाट तलब खाने शिक्षकलाई भने कम तलब दिनेजस्ता कार्य बन्द गर्नुपर्ने हिस्टुनको माग छ ।
पेशागत स्थायित्व कायम गर्नुपर्ने, अनुदानमा कार्यरत शिक्षकहरुलाई अविलम्ब दरबन्दीमा परिणत गर्नुपर्ने साविक उच्च मावि शिक्षकहरूको माग छ ।