
अन्तराष्ट्रिय टेलिभिजन रियालिटी शो ‘बुगी वुगी’को नेपाली फ्रेन्चाइजकी विजेता कविता नेपालीले फिल्ममा डेब्यू गर्ने भएकी छन् । अन्य डान्सिङ रियालिटीमा पनि सक्रिय एवं दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरेकी कविता ‘सायरा’मार्फत फिल्म उद्योगमा डेब्यू गर्न लागेकी हुन् ।
मंगलवार राजधानीमा एक कार्यक्रमकाबीच भारतीय र नेपाली निर्माताको लगानी रहने फिल्मको घोषणा गरिएको हो । फिल्म नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुन लागेको कार्यक्रममा जानकारी दिइयो । हिन्दी भाषामा भारतमा पनि प्रदर्शन हुने भनिएको फिल्म घोषणा कार्यक्रममा बोल्दै कविताले टिमले आफूलाई फिल्ममा जोडिन मद्धत गरेकोमा खुशी सुनिइन् ।
‘म राम्रो डेब्यूको खोजिमा थिएँ । भनेझैँ टिम पाउँदा डेब्यू गर्ने भएकी हुँ । भूमिका पनि सुहाउँदो छ’ कविताले भनिन् ।
दशैं र तिहारको बीचमा छायांकन शुरु हुने ‘सायरा’को ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी दिइएको छ । यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ । फिल्ममा अभिनेता आर्यन सिग्देल, भारतीय मोडल सुफिया सिद्दिकीसँगै कविता नेपाली पनि शीर्ष भूमिकामा देखिन लागेकी हुन् ।