०७ असार २०८३, आइतबार

नेपाली भूमिमा चीनविरूद्ध गतिविधि हुन नदिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

नेपाली भूमिमा चीनविरूद्ध गतिविधि हुन नदिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भ्रमणमा रहेका चीनको जनकांग्रेसका स्थायी कमिटी अध्यक्ष ली चान्शुसँग नेपाली भूमिमा चीनविरूद्धका गतिविधि गर्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

४ दिने भ्रमणका लागि नेपाल आएका ली र प्रधानमन्त्री देउवाबीच मंगलवार सिंहदरबारमा भेटवार्ता भएको हो । ली नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको  र नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको बताएका हुन् ।

लीको भ्रमणले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने देउवाले बताए । 

देउवासँगको भेटमा लीले नेपाल र चीन बीचमा ६ दशकभन्दा लामो समयदेखि असल छिमेकीकारूपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् । 

चीन नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका सन्दर्भमा गम्भीर र सचेत रहेको समेत लीले देउवासँग बताएका छन् ।
 

कमेन्ट गर्नुहोस्