
पश्चिम नवलपरासीमा शिक्षक सरूवाको विषयलाई लिएर विद्यार्थीहरूले रामग्राम नगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित एकै पटक ३३ जना शिक्षकको सरूवा गरेपछि अहिले नगर क्षेत्रको शैक्षिक क्षेत्रमा हलचल मच्चिएको छ ।
देशभर राष्ट्रिय बाल दिवस मनाई रहेका बेला सदरमुकाम परासीको रामग्राम नगर क्षेत्रका विद्यार्थीहरु भने आन्दोलनमा उत्रिएका हुन् ।
बाल दिवसको अवसरमा नगरपालिकाको सभाहलमा चित्रकला प्रदर्शनी राखिएको थियो । तर, विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि कार्यक्रम स्थगित भएको छ । आन्दोलनका कारण नगरपालिकाको काम ठप्प बनेको छ । विद्यार्थीहरू नगरपालिकाको मूल गेटबाट भित्र प्रवेश गर्न थालेपछि केही समय प्रहरीसँग धकेला धकेलसमेत भएको थियो ।
सदरमुकाममा रहेको पवन माध्यामिक विद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेपछि वरपर रहेका केही विद्यालयका विद्यार्थीहरु पनि आन्दोलनमा सहभागी हुन आएका थिए ।
राम्रो पढाउने शिक्षकको सरूवा गरेका कारण आन्दोलन गर्नुपरेको विद्यार्थीहरूले बताएका छन् ।
सरूवा फिर्ता नभएसम्म आन्दोलन जारी रहने पवन माविका विद्यार्थीहरुले बताएका छन् । पवन माविबाट प्रधानाध्यापकसहित ६ शिक्षकको सरुवा गरिएको छ ।
नगर क्षेत्रमा ३२ वटा सामुदायिक विद्यालयमा छन् । ती विद्यालयमा कुल १ सय ४१ जना शिक्षकले अध्यापन गराउँदै आएका छन् । जसमध्ये माध्यामिक तहका ८ जना, निम्नमाध्यामिक तहका २० जना र प्राथमिक तहका ५ जनासहित ३३ जना शिक्षकको सरूवा भएको नगर शिक्षा शाखाका प्रमुख रूद्रप्रसाद रेग्मीले बताए ।
उनीहरुको नगर क्षेत्रकै विद्यालयहरूमा सरुवा भएको हो । सरुवा भएकामा शिक्षकहरू एकै विद्यालयमा ३ वर्षदेखि २८ वर्षमा कार्यरत रहेको रेग्मीले बताए ।
लामो समयसम्म एउटै विद्यालयमा बस्नु भन्दा अर्को विद्यालयमा जाँदा शैक्षिक सुधार हुने अपेक्षाले सरूवा गरिएको रेग्मीको भनाई छ । रामग्राम नगरपालिका मेयर धनपत यादवले नियमानुसार सरूवा गरिएकाले विद्यार्थीहरुको मागलाई कार्यपालिकाको बैठक बसेर टुंगो लगाउने बताए ।