
काठमाडौं, १८ साउन — उत्तर कोरियामाथि कडा नीति अपनाइरहेको अमेरिकाले अहिले नरम रवैया अपनाएको छ । उत्तरले बारम्बार क्षेप्यास्त्र र परमाणु परीक्षण कार्यक्रम गरेका कारण अमेरिकाले उसलाई चेतावनी दिइसकेको छ ।

अहिले आएर चाहिँ अमेरिकाले नरम कुरा गर्दै उत्तर कोरियामा सत्ता परिवर्तन नचाहेको बताएको छ । आफूहरू उत्तरको शत्रु नभएको र कुराकानी गर्न समेत आफूहरू तयार रहेको उसले बताएको छ ।
अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियाको सत्ता परिवर्तन गर्ने उद्देश्य नराखेको बताए । तर उत्तरले आणविक हतियार कार्यक्रम रोक्नुपर्ने चाहिँ उनको भनाइ छ । आणविक क्षेप्यास्त्र कार्यक्रम रोकेमा अमेरिका कुराकानीका लागि तयार रहेको उनले बताए ।
टिलरसनका अनुसार उत्तरले अन्तर्महादेशीय क्षेप्यास्त्र परीक्षण गरेर अमेरिकाका लागि खतरा निम्त्याएकाले जवाफ दिन बाध्य बनाएको बताए ।
राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाविरुद्ध कडा नीति अपनाउँछन् र चीनले उत्तरलाई नियन्त्रण नगरेको भन्दै आलोचना गरिरहन्छन् ।
तर टिलरसनले उत्तर कोरिायको स्थितिका लागि चीनलाई आफूहरूले दोषी नठ–याउने बताएका छन् । त्यो स्थितिका लागि उत्तर आफैं जिम्मेवार रहेको उनको भनाइ छ ।
एजेन्सी