२९ जेठ २०८३, शुक्रबार

विद्यालय नाटक महोत्सवः बिहीवार ‘खुट्टीमा झुण्डिएको कोट’ मञ्चन

विद्यालय नाटक महोत्सवः बिहीवार ‘खुट्टीमा झुण्डिएको कोट’ मञ्चन

विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको नवौँ दिन बिहीवार ‘खुट्टीमा झुण्डिएको कोट’ मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको कान्तिपुर माध्यमिक विद्यालयले विद्यार्थी विवेककुमार यादवद्वारा लिखित तथा शिक्षक रोशन राजवंशीद्वारा निर्देशित नाटक मञ्चन गरेको हो । 

नाटकले मित्रताको कथामार्फत दाइजो प्रथाविरुद्ध बोलेको थियो । नाटकमा लेखक यादवसँगै सुवास साह, पवन महत्तो, सरोज मेहता, सविना खातुन, इशु साह, खुशी राजवंशी, कमल मुर्मुलगायत १२ विद्यार्थीले अभिनय गरेका थिए । 

भदौ २२ गतेदेखि शुरु भएको महोत्सवमा शुक्रवार अन्तिम दिन श्रीश्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । अपराह्न ४ बजे उक्त नाटक मञ्चनसँगै महोत्सव विधिवत रुपमा समापन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । 

यसअघि आयोजकको उद्घाटन नाटक साँढेसँगै, विभिन्न विद्यालयका उद्धारकर्ता विवेक, अँधेरी नगरी, प्रत्यागमन, चोर, भविष्य निर्माण, कोही किन बर्बाद होस् र सुसंस्कृतम्सहित ९ नाटक मञ्चन भइसकेका छन् । 

महोत्सवमा सहभागी हुनका लागि आवेदन दिएका विद्यालयमध्येबाट ९ विद्यालय छनोट गरी सहजीकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो । विद्यालयले शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारेको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएका छन् । महोत्सवले विद्यालय, विद्यार्थी र रंगमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्