२५ जेठ २०८३, सोमबार

नुवाकोटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई विद्यालय छनोट

नुवाकोटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई विद्यालय छनोट

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि नुवाकोटका २९ विद्यालय छनोटमा परेका छन् ।  

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीय निर्णयानुसार नुवाकोटका चार विद्यालयमा चारकोठे भवन र २५ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट भएको केन्द्रको अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोविन्दराज पोख्रेलले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको दायराले सम्बोधन गर्न सक्ने गरेर देशभरका तीन हजार चार सय ७५ विद्यालय यस कार्यक्रममा छानिएका छन् ।

चारकोठे भवन निर्माणका लागि छनोटमा परेका नुवाकोटको ऐंसेलुभूमे मावि किस्पाङ, सुन्दरादेवी मावि तादी, नवजीवन मावि र कालिका मावि ककनीले रु ५० लाखका दरले र सूचना प्रविधि प्रयोगशाला कार्यक्रममा छानिएका २५ विद्यालयले रु छ लाख ५० हजारका दरले बजेट प्राप्त गर्ने कार्यविधिमा भनिएको छ ।

कार्यक्रम सञ्चालन तथा कार्यान्वयनसम्बन्धी विस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट वित्तीय हस्तान्तरण हुने क्रममा रहेको केन्द्रले जनाएको छ । यस कार्यक्रमका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत रु आठ अर्ब ८८ करोड छुट्याएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्