
प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई १ सय ७४ पेज लामो बयानमा हस्ताक्षर गराउन शुरू गरेको छ । समितिले तयार गरेको बयानको प्रतिमा शुरूमा चोलेन्द्रले हस्ताक्षर गर्न अस्वीकार गरेपछि अहिले प्रत्येक पेज पढेर सुनाउन लागिएको हो ।
समिति बैठकमा चोलेन्द्रले आफूले बोलेको भिडियो र अडियो आफ्नै हो भनेर हस्ताक्षर गर्ने, तर प्रत्येक पेजमा नगर्ने अडान लिएका थिए । तर, समितिको प्रतिवेदनमा बयानमा हस्ताक्षर गर्नैपर्ने समितिको अडानपछि हस्ताक्षर गर्न चोलेन्द्र राजी भएका हुन् ।
कांग्रेस सांसद मीन विश्वकर्मामा अनुसार समिति बैठकमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि समितिको कार्यकक्षमा प्रत्येक पेज पढेर हस्ताक्षर गराउन लागिएको छ । समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर समितिले चोलेन्द्रको बयान १७४ पेजमा उतारेको छ ।
हस्ताक्षर सम्पन्न गरेपछि पूरक प्रश्न सोध्ने तयारी छ । प्रतिनिधि सभाको बैठकका कारण समिति बैठक ४५ मिनेटका लागि स्थगित गरिएको छ । समिति बैठक स्थगित भएपछि सचिवालयमा चोलेन्द्रको बयान पढ्दै हस्ताक्षर गराउने काम चलिरहेको छ ।
भोलि प्रतिनिधि सभाको कार्यकाल सकिने भएकोले आजै प्रतिवेदन सभामुखलाई बुझाउने तयारी छ । अदालतमा भ्रष्टाचारलाई बढावा दिएको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको आरोप लगाउँदै चोलेन्द्रविरुद्ध गत फागुन १ गते संसद्मा महाभियोग दर्ता भएको थियो ।