रुसले छोडेर गएको इज्युम शहरमा सामूहिक चिहान भेटिएपछि युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसलाई जवाफदेही बनाउने प्रतिज्ञा गरेका छन् ।
कम्तीमा ४४० वटा शव भएको सामूहिक चिहान फेला परेलगत्तै जेलेन्स्कीले रुस सबैतिर मृत्यु गराउँदै हिँडेको बताए ।
उक्त चिहान बिहीवार साँझ शहर नजिकको जंगलमा भेटिएको थियो । चार महिनासम्म रुसको नियन्त्रणमा रहेको उक्त शहरलाई युक्रेनी सैनिकहरूले मुक्त गरेका थिए ।
अनुसन्धानकर्मीहरूका अनुसार, कतिपय चिहानहरू सर्वसाधारणका जस्ता देखिन्छन् भने अन्यमा सैन्य चिह्नहरू भेटिन्छन् । कुनै खाल्डोलाई अंक मात्रले चिनाइएको छ ।
त्यहाँ गाडिएका मानिस कसरी मरेका हुन् भन्ने स्पष्ट छैन । तर युक्रेनीहरू ती मानिस युद्धका क्रममा मारिएको हुन सक्ने बताएका छन् ।
प्रहरीले चिहान उत्खनन गर्न थालेको छ । युद्धअपराधको सम्भावनाको प्रमाण संकलनका लागि चिहान खन्न थालिएको हो । प्रहरीले रुसलाई दोषी ठहर गरिसकेको छैन तर बुचा लगायतका स्थानमा रुसले सामूहिक हत्या गरेको आरोप युक्रेनले पहिला पनि लगाएको हो ।
जेलेन्स्कीले इज्युमलाई मारिउपोल र बुचासँग तुलना गरेका छन् ।
खार्किभ क्षेत्रका प्रमुख प्रहरी अनुसन्धानकर्मी सर्ही बोल्भिनोभले मृत शरीरलाई फरेन्सिक परीक्षणका लागि लगिने बताएका छन् ।