
नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कसैको उक्साहटमा आएर बयानमा हस्ताक्षर गर्न नमानेको आशंका गरेका छन् । महाभियोग सिफारिस समितिका सदस्यसमेत रहेका उनले चोलेन्द्रले समितिलाई सहयोग नगरेको गुनासो गरेका हुन् ।
महाभियाेग सिफारिस समितिकाे बैठकमा चोलेन्द्रले दिएको बयानमा हस्ताक्षर गराउने काम भइरहेको हो । १७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम भइरहेको र सबै पढेर सुनाइसक्न करिव ७ घण्टाको समय लाग्ने विश्वकर्माले बताए ।
शुक्रवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शुरुमा प्रधानन्यायाधीश जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको पेजमा हस्ताक्षर गर्ने बताएको तर हस्ताक्षर गर्न दिँदा नमानेको जानकारी दिए । उनले हस्ताक्षर गर्न नमानेपछि आद्योपान्त पढेर सुनाउने काम भइरहेको पनि विश्वकर्माले जानकारी दिए ।
‘अहिले आएर सही गर्नलाई कागज दिने बेलामा म यसमा साइन गर्दिन भन्नुभयो । पहिला अन्तिममा गर्छु भन्नुभएको थियो । यसो बुझ्दा प्रभोक गरेकोजस्तो लाग्यो । केही माननीय सदस्यहरूले उहाँलाई सोधौं न उहाँले नगर्न पनि त सक्नुहुन्छ भनेपछि उहाँले गर्दिनँ भन्नुभयो । उहाँले भनेका सबै कुराहरु हुन् । सबै ठीक छ भन्नुभएको छ, अहिले पढ्दै जाँदा त’, विश्वकर्माले भने ।