
स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले रुपन्देहीमा उम्मेदवारी घोषणा गरेको छ । जसअनुसार प्रतिनिधि सभा सदस्यतर्फ रुपन्देही–१ मा विशाल बास्कोटा, २ मा डा. निकोलस भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भीष्म राना छन् ।
बास्कोटा स्वास्थ्यकर्मी, भुसाल मनोरोग चिकित्सक, बन्जाडे अधिवक्ता र राना पूर्व भारतीय सैनिक हुन् । यस्तै प्रदेश सभा सदस्यतर्फ रुपन्देही ४ खमा सञ्जयकुमार मिश्रा र ५ कमा कमल ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै कपिलवस्तु क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा इन्जिनियर देवेन्द्रकुमार शर्मा र प्युठानमा रामचन्द्र केसीले उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनीहरूलाई हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र लौरो अभियानका संयोजक सुमन सायमीले चुनाव चिन्ह लौरो प्रदान गरेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले सक्षम र योग्य युवाहरूलाई निर्वाचित गरेर देश बनाउने संकल्पसहित लौरो अभियान शुरु भएको बताए ।
लौरो अभियानका संयोजक सुमन सायमीले सत्तामा रहेका दलहरुमा गठबन्धनको अहंकार रहेको र दलीय सर्वसत्तावाद लादेको भन्दै नागरिकहरु यसबाट मुक्त भए मात्रै परिवर्तन आउन सक्ने बताए ।