२७ जेठ २०८३, बुधबार

खोकना–बुङमती खण्डको विवादले फास्ट ट्रयाक आयोजनामा ढिलाइ

खोकना–बुङमती खण्डको विवादले फास्ट ट्रयाक आयोजनामा ढिलाइ

नेपाली सेनाले काठमाडौं–तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको खोकना–बुङमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको बताएको छ । सेनाले उक्त समस्या समाधानका लागि  केन्द्रीय तहबाट पहल गरिनुपर्ने बताएको छ । 

शुक्रवार नेपाली सेनाले आफ्नो मुख्यालय जंगीअड्डामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाका प्रमुख विकास पोखरेलले खोकना–बुङमती खण्डको स्थानीय विवादको निकास सम्बन्धमा हालसम्म भएका विभिन्न प्रयासहरूका बाबजुद ठोस निकास ननिस्किएको बताए । उनले प्रक्रियागत जटिलता फुकाउन अन्तरमन्त्रालय सहजीकरणको आवश्यक्ता देखिएको बताए । 

पोखरेलले यस बारेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग बसेर अर्को हप्ताबाट छलफल अघि बढाउने जानकारी दिए । उनले  चालु आर्थिक वर्षमा २०७९/०८० को माइलस्टोन तय गरिएअनुरुप आगामी फागुनसम्ममा खोकना विवाद समाधान गरी त्यस खण्डको अधिग्रहण हुन बाँकी ४०१ रोपनी जग्गा अधिग्रहण गर्ने लक्ष्य रहेको बताए । उनले फागुनसम्ममा जग्गा अधिग्रहणको समस्या समाधान नभए व्यवस्थापनमा बाधा पर्न गई निर्माण कार्य प्रभावित हुने बताए । 

पोखरेलले आयोजनाको द्रुतमार्ग इलाकामा हालसम्म कुल छपान भएको ३८ हजार ६६४ वटा रुखमध्ये २७ हजार ३७० वटा रुखहरू कटान भएको बताए । उनले छपानमा परेको तर कटान हुन बाँकी रहेको ११ हजार २९४ रुखहरूलाई आवश्यक्ताअनुसार कटान गर्ने जानकारी दिए । उनले कुल छपान भएको रुखहरूको सन्दर्भमा ६ लाख ७५ हजार १७५ बिरुवाहरू रोप्ने योजना मुताविक चरणवद्ध रुपमा वृक्षारोपण कार्य भइरहेको स्पष्ट पारे । 

आयोजनाको लागि चालु आर्थिक वर्षमा ३० अर्ब ७ करोड ८६ लाख बजेट विनियोजन भएको र १७.१७ प्रतिशत थप कार्य प्रगति हासिल हुने लक्ष्य रहेको बताए । सो लक्ष्य प्राप्ति गरेको खण्डमा चालु आर्थिक वर्षको अन्त्यमा ३८.३५ प्रतिशत प्रगति हुने बताए । उनले चालु आर्थिक वर्षमा विनियोजित बजेट ३० अर्ब ७ करोड ८६ लाख मध्ये पुँजीगततर्फ २९ अर्ब ९९ करोड ९७ लाख र चालुतर्फ ७ करोड ८९ लाख रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षको भाद्र महिनासम्मको वित्तीय प्रगति विवरण कुल वित्तिय खर्च ७८ करोड २२ लाख २४ हजार १६६ रहेको बताए । 

सेनाले आयोजनाको ११ वटा ठेक्का प्याकेजमध्ये हालसम्म सुरुङखण्ड, सडक तथा पुल खण्ड गरी ५ वटा प्याकेजको ठेक्का सम्झौता भई निर्माण कार्य प्रारम्भ भइसकेको बताए । पोखरेलले यसै चालु आर्थिक वर्षमा बाँकी ६ वटा प्याकेजको समेत ठेक्का व्यवस्थापन गरी पारदर्शी एवं गुणस्तरीय ढंगले सम्पूर्ण कार्य एकसाथ सञ्चालन गर्ने र निर्धारित समयमा नै आयोजना सम्पन्न गर्ने कार्ययोजना रहेको बताए । उनले द्रुतमार्गको लम्बाई ७२.५ किलोमिटर रहेको र ४ लेनको सडक, चौडाई पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर, विशेष प्रकृतिको पुल १६ वटा, अन्य पुल ७१ वटा हुने बताए । 

द्रुतमार्गमा ३ वटा ट्रनेल, दुई ठाउँमा विश्रामस्थल हुने नेपाली सेनाले जनाएको छ ।  गत आर्थिक वर्ष २०७८÷०७९ को लागि ८ अर्ब ९२ करोड ७९ लाख विनियोजन भई वार्षिक कार्यक्रम तय भएकोमा चालुतर्फ ८ करोड ७५ लाख र पुँजीगततर्फ ८ अर्ब ८४ करोड ४ लाख रहेको थियो । जसअनुरुप वार्षिक लक्ष्यको अनुपातमा भौतिक प्रगति ९९.८९ प्रतिशत र वित्तिय प्रगति ९९.६१ प्रतिशत रहेको सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार नेपाली सेनालाई हस्तान्तरण हुनुपूर्व आयोजनाको कुल खर्च ३ अर्ब ६७ करोड १३ लाख रहेअनुरुप एवं आयोजनाको गत आर्थिक वर्षसम्मको कुल वित्तिय खर्च ३४ अर्ब २९ करोड समेत गरी आयोजनामा हालसम्म कुल ३७ अर्ब ९६ करोड ९६ लाख रकम बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७३÷०७४ बाट नेपाली सेनाको जिम्मेवारी अन्तर्गत काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्य सञ्चालन भइरहेको छ । २०७६ भदौ १ गते आयोजनाको डिपिआर स्वीकृत भइ आयोजनाको निर्माण अवधि ४ वर्ष ६ महिना निर्धारण भएकोमा २०८१ मंसिरसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखी निर्माण कार्यलाई तीब्रताका साथ अघि बढाइएका सेनाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्