धादिङ, १८ साउन - भाडामा कार्यालय सञ्चालन गरिरहेको नीलकण्ठ नगरपालिकाले खाली हुँदै गएको जिल्ला समन्वय समितिबाट कार्यालय सञ्चालन गर्न खोजेपछि तनाव भएको छ ।

नगरपालिकाको बोर्ड बैठकबाट पारित गरेर जिल्ला समन्वय समितिलाई कार्यालय उपलब्ध गराइदिन आग्रह गरेपनि जिल्ला समन्वय समितिले अटेर गरेको भन्दै नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगानासहित कर्मचारीको टोली टेबुल कुर्सी बोकेरै जिससमा पुगेको थियो ।
प्रमुख, उपप्रमुखसहितको कर्मचारीको टोली नगरपालिकाको फर्निचरसहित जिल्ला समन्वय समिति प्रवेश गर्न लाग्दा स्थानीय प्रशासनले भित्रै छिर्न दिएन । नगरपालिकाको टोली जिल्ला समन्वय समितिमा प्रवेश गर्न खोज्ने तर प्रहरीले छेक्ने क्रममा केहीबेर धकेलाधकेल समेत भयो ।
नीलकण्ठ नगरपालिकाको कार्यालय हाल भाडाको घरबाट सञ्चालन भइरहेको छ । स्थानीय प्रशासनले जिल्ला समन्वय समितिभित्र प्रवेश गर्न नदिएपछि नगरपालिकाले जिससको ढोकामै त्रिपाल राखेर कार्यालय सञ्चालन गर्न सुरु गरेको छ ।
मन्त्रालयबाटै समन्वय गरेर कार्यालय चलाउनू भनेर पत्र आउँदासमेत स्थानीय विकास अधिकारीले बेवास्ता गरेकाले कानूनसम्मत तरिकाले कार्यालय राख्न आएको प्रमुख ढुंगानाले बताए ।
यद्यपि, जिल्ला समन्वय समितिको निर्वाचन हुन भने बाँकी नै छ । जिससको निर्वाचनमा नेकपा (एमाले)को एकल बहुमत छ र उसले उठाएको उम्मेदवारले जित्ने पक्कापक्की जस्तै छ । जिससमा एमालेले जित्ने पक्कापक्की भएको र नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन विजयी भएकाले यो घटनालाई राजनीतिक प्रतिष्ठाका रुपमा हेरिएको छ ।
अहिले स्थानीय विकास अधिकारी जीवलाल भुसाल भने बिदामा बसेका छन् । नीलकण्ठ नगरपालिकाले जिससमा कार्यालय सार्दैछ भन्ने सूचना पाएपछि जिल्ला प्रशासन कार्यलय धादिङले जिल्ला समन्वय समितिमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।
नगरपालिका क्षेत्रभित्र सरकारी कार्यालय खाली हुँदै गइरहेको बेला नगरपालिकाले साँघुरो घरमा भाडामा बस्नु परेकाले कार्यालय खोज्नु परेको प्रमुख ढुंगानाको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयले भने नीलकण्ठ नगरपालिकाको कर्मचारी टोलीलाई भित्र पस्न नदिएको नभई जिसस भित्रै जिसस निर्वाचन अधिकृतको कार्यालय राखिएकाले त्यसको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गर्नुपरेको बताएको छ ।
जिसस संयोजकका लागि मंगलबार उम्मेदवारी दर्ता भए पनि यही साउन २३ गतेलाई निर्वाचनको मिति तोकिएको छ । नगरपालिकाले कार्यालय सार्दैछ भन्ने सूचना पाएपछि प्रजिअ महेशप्रसाद आचार्यले जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक राखेको भए पनि त्यसले कुनै निष्कर्ष निकाल्न सकेन ।
जिससको निर्वाचन नजिकिँदै गरेकाले सर्वदलीय छलफलमा निचोड निस्कन नसकेको छलफलमा सहभागी एक नेताले बताए । जिल्ला समन्वय समितिको निर्वाचनपछि आउने नयाँ प्रतिनिधिसँग छलफल गरेर कार्यालय सञ्चालन गर्ने प्रस्ताव गरिएको भए पनि दलहरुबीच सहमति हुन नसकेको बताइएको छ ।