काठमाडौं, १९ साउन- 'पहिलाजस्तो भारत नरहेको' सन्देशसहित भारतीय राजदूत मञ्जिभ सिंह पुरीले एमाले अध्यक्ष केपी ओलीलाई भारतको स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने एक महत्वपूर्ण कार्यक्रममा निम्ता दिएका छन् , आजको अन्नपूर्ण पोस्टमा खबर छ । भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित दूतावासमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज उपस्थित हुने कार्यक्रममा ओलीलाई उपस्थित भइदिन राजदूत पुरीले विशेष आग्रह गरेका थिए । किड्नी प्रत्यारोपणपछि विदेशमन्त्री स्वराज नेपाल आउन लागेकी हुन् भने एमाले अध्यक्ष ओलीको पनि किड्नी प्रत्यारोपण गरिएको छ ।

स्वराज उपस्थित हुने कार्यक्रममा ओलीलाई जोड गर्नुले भारत एमालेसँग सम्बन्ध सुधारमा लागेको हुन सक्ने जानकारहरूको बुझाइ छ ।'पोखरामा भएको सार्क विदेशमन्त्रीस्तरीय बैठक, त्यसअघि दिल्लीमा ओली र स्वराजबीच लामो छलफल भएको थियो', एमालेका एक नेताले भने, 'ओलीलाई बुझ्ने भएकाले भारतले स्वराजलाई काठमाडौं पठाएको हो कि भन्ने पनि देखिन्छ ।'
संविधानसभाबाट संविधान जारी गर्न 'केही दिन पर्खिदिन' आफ्ना दूतमार्फत पठाएको सन्देश एमाले अध्यक्ष ओलीले स्वीकार नगरेको भन्दै भारतको सत्तापक्ष (प्रधानमन्त्री नरेन्द्र मोदी) ओलीसँग रिसाएको छ, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
संविधान जारीपछि भारतले ६ महिनासम्म नाकाबन्दी लगाएको थियो भने ओली सरकारलाई 'अपदस्थ गर्न' भारतले भूमिका खेलेको भन्दै ओली पनि रिसाएका थिए ।