
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशमा स्वेच्छचारीतन्त्र चलाउँदा अकुपाई बालुवाटार भनेर तमासा गर्नेहरू मौन बसेको भन्दै आपत्ति जनाएका छन् । देशको प्रधानन्यायाधीशलाई गैरकानूनी ढंगले नजरबन्दमा राख्दा कोही नबोलेको भन्दै उनले आपत्ति जनाएका हुन् ।
नेपाल प्रहरीका पूर्वमहानिरीक्षकलाई पार्टी प्रवेश गराउने कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै ओलीले गठबन्धनले पञ्चायतलाई बिर्साउने स्वेच्छचारी काम गरिरहेको आरोप लगाएका हुन् ।
‘प्रधानन्यायाधीशलाई घरमै थुनेर राखेको छ, सुरक्षाकर्मी खोसिदिएको छ । म प्रधानमन्त्री रहँदा अकुपाई बालुवाटार भन्नेहरू कहाँ गए, इनअफ इज इनअफ किन बोल्दैनन् ?’, ओलीले भने, ‘प्रायोजित कुरामा देश चलाउन खोजिएको छ । अहिलेको घटनाक्रम ‘मोरदेन इनअफ’ हो । स्वेच्छचारिताको पराकाष्टा हो ।’
ओलीले देशबाट राणाशासन ढाल्ने, पञ्चायत ढाल्ने र राजतन्त्र हटाउने नेपाली जनताले अहिलेको गठबन्धनलाई टिपेर मिल्काइदिने टिप्पणी गरे ।