
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको बताएको छ । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’लाई नेपाली फिल्म नै भन्ने निर्णय भएको बताए ।
‘प्रेम गीत ३ नेपाली कम्पनीले बनाएको छ । नेपालको पैसा खर्च भएको छ । नेपालमा छायाँकन छ । नेपाली कलाकारहरू छन्’, पोखरेलले लोकान्तरसँगभने, ‘अनि कसरी विदेशी फिल्म भयो ?’
उनले हिन्दी भाषामा डब गर्न पाउने कानुनी व्यवस्था भएको बताउँदै डब गर्ने वित्तिकै विदेशी फिल्म भन्न नमिल्ने बताए । मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाउने छ । फिल्मले १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । हिन्दी संस्करणको सेन्सर भने बाँकी छ । फिल्म आज सेन्सर हुनेछ ।
चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ लाई विदेशी फिल्म बनाउँदै १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने बताउँदै सेन्सर सिफारिस गरेको थियो । बुधवार फिल्मको हिन्दी संस्करणलाई बोर्डले विदेशी फिल्म करार गरेपछि वितरकले सञ्चार मन्त्रालयमा निवेदन दिएका थिए ।
त्यसपश्चात छलफलको लागि बोर्ड अध्यक्ष भुवन केसीलाई मन्त्रालयले बोलाएको थियो । मन्त्रालयका प्रवक्ता पोखरेलका अनुसार अब फिल्म नेपाली फिल्मसरह रिलिज हुनेछ । स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको ‘प्रेमगीत ३’मा प्रदीप खड्का र क्रिष्टिना गुरुङको शीर्ष भूमिका छ । निर्माण टिम भने यतिबेला फिल्म प्रिमियरका लागि मुम्बईमा छ ।