
सत्तारुढ गठबन्धनबीच प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँटमा कुरा मिल्न नसकिरहेको समयमा गठबन्धन दलका तीन नेताबीच छुट्टै छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बस्नुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच शुक्रवार छलफल भएको हो ।
तीन नेताबीच छलफल भएको जसपा स्रोतले पुष्टि गर्यो । छलफलमा सिट बाँडफाँटकै विषयमा छलफल भएको थियो । नेपाली कांग्रेसमाथि दबाब सृजना गर्ने तीन नेताले छुट्टै छलफल गरेका हुन् ।
यसैबीच, सिट बाँडफाँटको विषयलाई लिएर गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । आज-भोलिमै सहमति गर्नेगरी छलफल भइरहेको स्रोतले बतायो । बालुवाटार बैठकमा जानुअघि शुक्रवार किसान संघको कार्यक्रममा प्रचण्डले दलहरूबीचको छलफल सहमति उन्मुख रहेको बताएका थिए ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सीट बाँडफाँटका लागि भइरहेको छलफलमा १ सय ६५ मध्ये १ सय ३० सिटमा सहमति भएको नेताहरूले दाबी गरेका छन् । मंसिर ४ गतेको चुनावको लागि असोज २३ गते उम्मेदवार मनोनयन हुँदैछ ।