
काठमाडौं, १९ साउन — संस्कृत साहित्यका प्रखर विद्वान् तथा सनातन धर्म प्रचारप्रसारमा संलग्न आचार्य खेमराज केशवशरणको बुधवार निधन भएको छ ।

असी वर्षका आचार्यको काठमाडौंमा निधन भएको हो ।
मस्तिष्कमा रक्तश्राव भएपछि उहाँको उपचार चलिरहेको थियो ।
आफ्नो सुमधुर प्रवचनकलाका लागि प्रसिद्ध आचार्य केशवशरणलाई अंग्रेजी भाषामा पनि राम्रो दख्खल थियो । उहाँ आध्यात्मिक प्रवचनका लागि विदेशयात्रा पनि गरिरहनुहुन्थ्यो ।
रेडियो नेपालमा धार्मिक कार्यक्रम चलाउने आचार्यले सयौं भजनका साथसाथै नैतिक शिक्षाका पाठ्यपुस्तकको पनि रचना गर्नुभएको थियो ।
निम्बार्क वैष्णव परम्पराका आचार्यको निधन ‘सनातनधर्म जगतको अपूरणीय क्षति’ भनी पूर्वउपप्रधानमन्त्री कमल थापाले ट्वीट गरेका छन् । त्यस्तै पूर्वमन्त्री तथा राजनीतिशास्त्रका विद्वान् नीलाम्बर आचार्यले पनि खेमराज केशवशरणप्रति ट्वीटमार्फत श्रद्धाञ्जलि प्रकट गरेका छन् ।