

के तपाईलाई लाग्छ कि कुनै गुफा भित्र छिरेपछि त्यहीँ वेपत्ता भइन्छ ? पक्कै पनि कैयौं प्राकृतिक कारणले गर्दा गुफाभित्र छिर्यो भने फर्किर आउन त्यति सजिलो हुँदैन ।
यहाँ हामीले एक यस्तो गुफाका बारेमा तपाईलाई बताउँदै छौं, जो धार्मिक दृष्टिले पवित्र मानिन्छ । तर त्यसभित्र छिर्ने मानिसहरु कहिल्यै फर्केर आउँदैनन् ।
यो गुफा छिमेकी राष्ट्र भारत प्रशासित जम्मू–कश्मिरमा छ । धार्मिक आस्थाका अनुसार आज पनि यो गुफामा भगवान शिवको वास छ । प्रसिद्ध तीर्थस्थल अमरनाथको यात्राका क्रममा यो गुफा आउँछ । श्रद्धालु तथा तीर्थयात्री यो गुफाको दर्शन गर्छन् । तर यो गुफाको एक हिस्सा बन्द गरिएको छ ।
यो गुफाको नाम हो शिव खोडी गुफा । यसको लम्बाइ करिब १५० मिटरको छ । भित्र गएपछि यो गुफा दुई हिस्सामा विभाजन हुन्छ । एकतर्फ भगवान शिवको प्राकृतिक शिवलिङ्ग भएको बताइन्छ । शिवलिङ्गको ठीक माथि छतजस्तो देखिने ठाउँमा गाईको कल्चौंडाजस्तो देखिने आकृति छ । जसबाट दुधजस्तो देखिने तरल पदार्थ शिवलिङ्गमा झरिरहन्छ ।

गुफाको दोस्रो भाग भने बन्द गरिएको छ । श्रद्धालुहरुका अनुसार गुफाको दोस्रो हिस्सा यसकारण बन्द गरिएको छ कि यहाँ जाने व्यक्ति कहिल्यै फर्केर आउँदैनन् । मान्यताअनुसार गुफाभित्र बन्द गरिएको भागमा जाने व्यक्ति भित्र जानेबित्तिकै शिवधाममा विलिन हुन पुग्छन् ।
यो गुफा पूर्ण रुपमा अन्धकारमय छ । यसको चौडाई १ मिटर भएको बताइन्छ । जानकारीका अनुसार यो गुफाको बन्द गरिएको हिस्सा अमरनाथमा पुगेर खुल्छ ।
किम्वदन्ती छ कि द्वापर युगसम्म भक्तजनहरु यही गुफामार्फत अमरनाथ जाने आउने गर्दथे । तर कलियुगकको प्रारम्भसँगै जो पनि यो गुफाभित्र छिर्यो त्यो व्यक्ति कहिल्यै फर्केर आएन । यसकारण यो गुफाको प्रवेशमार्ग बन्द गरिएको छ ।