
टिप्पणी
काठमाडौं, १९ साउन – नेकपा एमालेका अध्यक्ष केपी ओली सरकारबाट हटेको बिहीवार एक वर्ष पूरा भएको छ । सत्तासाझेदार माओवादी केन्द्रले कांग्रेससँग मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
ओलीले राजीनामा दिएपछि एक बर्ष पहिले अर्थात १९ साउनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा पिपलको रुख रोपेर ओली बाहिरिएका थिए ।
सत्ता यात्रा नौ महिनामा पुग्दैगर्दा प्रधानमन्त्री ओलीको लोकप्रियता चुलिएको थियो । कतिपयले हावादारी भनेपनि ओलीले केही विकासका सपना बाढेका थिए । त्यतिवेला ‘असम्भव ठानिएको’ लोडसेडिङ हटाएरै छाड्ने ओलीको उद्घोष थियो । फोहोर बाट विजुली र हावाबाट विजुली उत्पादनको प्रस्ताव ल्याउदा ‘ओलीको हावादारी’ गफ भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना भयो ।
ओलीले घोषणा गरेझै काठमाडौंबाट लोडसेडिङ मात्र हटेन, सानो स्केलमा भएपनि टेकुमा फोहोरबाट विजुली बत्ति बल्यो, र उच्च पहाडी क्षेत्रमा हावाबाट विजुली समेत बल्यो । समुन्द्रमा पानी जहाज चलाउने जस्ता अनेकौ कुरा गरे, त्यसलाई कतिपयले सपना ठाने कतिपयले गफ ।
प्रधानमन्त्री रहेको समयमा ओली सवभन्दा बढी त भारतीय हस्तक्षेप र दादागिरी विरुद्ध खरो रुपमा उत्रिए । ‘भूकम्पले थलिएको छिमेकीको घाटी च्याप्ने पनि छिमेकी हुन्छ ?’ भन्दै ओलीले नाकाबन्दीको चर्को विरोध गरे । नाकावन्दीलाई कारण बनाएर कतिपय सडकमा ओर्लने शक्तिकेन्द्रको अपेक्षा विपरित जनताहरु शहरमा दाउरा खोरेर भएपनि नाकाबन्दी बिरुद्ध डटे ।
सरकारको बिरुद्धमा होइन, राजीनामा गरेका प्रधानमन्त्रीको पक्षमा सडकमा –याली निस्कियो ।
झुकेनन् ओली, पछि हट्यो भारत
तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको सरकार जारी रहेको बेला भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको थियो । २०७२ साल असोज ६ मा भातरले नेपाली सीमा तर्फ प्रदर्शन भएको भन्दै नाकाबाट सामान पठाउन रोक लगाएको थियो ।
ओली असोज २५ गते प्रधानमन्त्रीमा निर्वाचित भए । ओली प्रधानमन्त्रीमा निर्वाचित भएसँगै भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीलाई थप कडाइ गर्यो ।
तराई केन्द्रीत दलहरुलाई नाकामा धर्ना बस्न लगाएर भारतले नाकाबन्दी नगरेको प्रस्ट पार्न खोजेको आरोपसमेत लागे ।
ओली प्रधानमन्त्री भएसँगै भारत भ्रमणका लागि निमन्त्रणा आएको थियो । तर, ओलीले भारतले नाकाबन्दी नहटाएसम्म आफू भ्रमणमा नजाने अडान लिए । जसलाई नाकाबन्दीबाट पीडित भएका जनताले राष्ट्रियताको पक्षधर भन्दै उनको समर्थन गरे ।
नेपाली कांग्रेस लगायतका दलका नेताले भारतले नाकाबन्दी गरेको छैन भन्दै सार्वजनिक अभिव्यक्तिसमेत दिन नसकेको अवस्थामा प्रधानमन्त्री ओलीले चुनौती दिए ।
ओली आफ्नो अडानबाट त हटेनन् तर भारतले तिव्र विदेशी दवाव र आफ्नो देश प्रति नेपालमा बढ्दो आक्रोस र चीन तर्फ नेपालीको आकर्षणलाई ध्यानमा राख्दै नाकाबन्दी खुकुलो गर्दै लग्यो जसलाई ओलीको सफता र उनको राष्ट्रवादी छवीमाथिको सफताको रुपमा लिइएको छ ।
कसरी बढ्यो लोकप्रियता ?
ओली सरकार गिराउनमा भारतीय स्वार्थ र भूमिका रहेको कुरा स्वयं भारतीय पत्रपत्रिकाले लेखेका थिए । नेपालमा ओली सरकार ढल्दा भारतीय मिडियामा एक प्रकारको उत्सव नै छाएको थियो । ‘ओली सरकार विस्थापन भारतको जीत’ भनेर समाचार टिप्पणीहरु आए ।
जनताको पक्षमा काम गर्दागर्दै ‘अल्पायुमै विस्थापन’ गरिएको भन्दै ओलीप्रति जनताको सहानुभूति बढेको देखियो । सौरभ जस्ता स्वतन्त्र विश्लेषकले ओलीलाई ‘राजा महेन्द्र पछि राष्ट्रियताको पक्षमा अडान भएका राजनेता’को संज्ञा दिए । परन्तु ओलीलाई ‘महेन्द्रीय राष्ट्रवाद’ लागू गर्न खोजेको भनेर एकथरीले आलोचना गर्ने गरेका छन् ।
सरकार गठनमा भएका सहमति कार्यान्वयन नभएको भन्दै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । सत्तासमीकरण फेरबदल गर्नु पर्नाको कारणबारे स्पष्ट नबताएपनि सरकारबाट बाहिरिएपछि आफूलाई विस्थापित गरेको सरकारलाई ‘मेड इन समह्वेर, एसेम्बल इन नेपाल’को संज्ञा दिएका थिए ।

राजनीतिमा ओली हावी
पहिलो संविधानसभा निर्वाचनपछि लामो समय राजनीति माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिपरि घुम्यो । प्रचण्डले बोलेका कुरामा अन्य दलले प्रतिक्रिया मात्र जनाउथे । दोस्रो पार्टी भएरपनि राजनीति अहिले ओलीको वरिपरि घुमिरहेको देखिन्छ । प्रमुख र तेस्रो दलका नेताहरु अहिले ओलीको क्रियामा प्रतिक्रिया जनाउदै भाषण गर्छन ।
स्थानीय तहको दुइचरणको चुनावमा ओली हावी भए, फलस्वरुप एमाले पहिलो पाटी बन्यो । कांग्रेसको गढ ठानिएको बनेपामा गएर ओलीले ‘कांग्रेसलाई जनताले यति धेरै भोट कसरी दिए, आश्चर्य लागेको छ’ भनेर प्रतिक्रिया दिए, तर कांग्रेसले यो कुराको खण्डन गर्न सकेन । पार्टी भित्रको आन्तरिक विबादलाई समेत हल गरेर ओलीले स्थानीय चुनावमा पार्टीलाई पहिलो बनाए । स्थानीय चुनावमा एमाले पहिलो पार्टी बन्नुमा अध्यक्ष ओलीको योगदान रहेको नेताहरु बताउँछन् ।
यसरी लोकप्रिय
नेकपा एमालेका प्रभावशाली पोलिटव्युरो सदस्य एवं तत्कालिन प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सरकारमा बस्दा गरेका कामका कारण सरकारबाट हटेपछि ओलीको लोकप्रियता बढेको बताउँछन् ।
‘ओलीले नेपाल र नेपालीको स्वाभिमानको कुरा गर्नुभयो । जनसंख्या र भूगोल हेरेर कुनैपनि देशको सार्वभौम सत्ता सानो ठूलो हुदैन भन्ने उहाँको कुरालाई धेरैले मनपराएको पाइयो’ रिमालले लोकान्तरसँग भने, ‘सार्वभौमसत्ताको कुरामा नेपालले शीर ठाडो पारेर छिमेकीसंग कुरा गर्छ भन्ने कुरा ‘मिसन भएका केही व्यक्ती बाहेक’ सबै नेपालीले मनपराए । यहाँसम्मकि कांग्रेस र माओवादीका नेताहरुले समेत ।’
भारतीय नाकाबन्दीको बिरोधमा नेपालले भुपरिवेष्टित देशको अधिकारको कुरा गरेर चीनसंग पारबहन सम्झौता गर्नुपनि ओलीको लोकप्रियता बढ्नुको कारण भएको ठान्छन रिमाल ।
‘नाकाबन्दीको सन्दर्भमा भुपरिवेष्टित देशको अधिकारको कुरा उठायौ, चीनसीत माग राख्यौ, सुनुवाइ भयो र सम्झौता भयो’ रिमाल भन्छन, ‘पूर्वाधारको विकास भइनसकेपनि नेपाल उत्तरतर्फबाट पनि सात समुन्द्रसंग जोडिन सफल भयो । भविष्यमा यो कार्यान्वय हुँदै जान्छ ।’
भूकम्पपछिको पुननिर्माण र आर्थिक विकासमा पनि ओली सरकारको निरन्तरताले काम गरेको रिमालको विश्लेषण छ । ‘पुननिर्माणमा प्रचारका लागि गरिएका सम्झौताले केही गरेर, भारतले एक खर्बको प्रतिबद्धता गर्यो काम गरेन भनेर ओलीले भन्नुभयो । जनतामा ओलीले सत्य कुरा भन्दा रहेछन भन्ने कुरा स्थापित भएको छ’ रिमाल भन्छन ।
तीन प्रधानमन्त्रीको तुलनाः को सफल ?
पछिल्लो दुर्इ बर्षमा बनेका तीनजना प्रधानमन्त्रीले गरेको पहिलो प्रतिबद्धताले को सफल भन्ने मापन गर्न सकिने रिमाल बताउछन् ।
‘प्रधानमन्त्री बनेपछि ओलीले पहिलो निर्णय दुइबर्षमा तुइन विस्थापन गर्ने निर्णय गरेका थिए, अहिले त्यो काम करिव पूरा हुँदैछ । प्रचण्डले ४५ दिनमा भुकम्प पीडितलाई पहिलो किस्ताको रकम बाढ्ने कुरा गरेका थिए, त्यो कति कार्यान्वयन भयो ?’ रिमाल प्रश्न गर्छन, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो निर्णय १५ दिनमा काठमाडौंमा खाल्डा पुर्ने गरे, त्यसको अबस्था के छ ? मैले केही बोल्नु पर्दैन ।’
लोडसेडिङ अन्त्यको जस ओलीलाइ नदिएपनि तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले उर्जामन्त्री बनेको दुइदिनपछि दुइबर्ष लोडसेडिङ अन्त्य गर्न सम्भव छैन भनेर अन्तवार्ता दिएको रिमालले स्मरण गरे ।
‘कात्तिकबाट आधारभूत लोडसेडिङ अन्त्य गर्ने भनेर हामीले घोषणा गरेका थियौ, त्यसको जस हामीलाई चाहिएन, तर आधार कसले बनाइदिएको थियो भन्ने कुरा कुलमानजीले चाही बुझ्नु भएको होला’ रिमाल भन्छन, ‘प्रचण्ड सरकारले सात प्रतिसतको आर्थिक बृद्धि गरेको कुरा कसले ल्याएको बजेट र कुन आधारमा भन्ने पनि तथ्यले बोल्छ ।’
ओलीले लिएको नीतिका कारण एमाले सफल भएको र पार्टीको विबाद अन्त्य भएको उनी दावी गर्छन ।