१५ असार २०८३, सोमबार

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

मेची भन्सार कार्यालयले सोमवारदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ ।

तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतवार सूचना जारी गरेरै असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई ‘सुविधा पास’ दिइने जानकारी गराएको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले मेची उद्योग वाणिज्य संघ र पर्यटन व्यवसायसँग आबद्ध संघ/संस्थाले सीमा नजिकको बजारसम्म भारतीय सवारीसाधनलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएको बताए । मेची उद्योग वाणिज्य संघले मेची भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग दोहोर्‍याएको थियो । भन्सार कार्यालयले व्यवसायीसँग यस विषयमा छलफलसमेत गरेको थियो । 

मेची भन्सार कार्यालयको सूचनामा त्यस्तो सुविधा बिहान ८ देखि बेलुका ५ बजेसम्म चल्नेगरी भारतीय गाडीले पाउने उल्लेख छ । यो सुविधा पास पाउन भारतीय सवारीसाधनले कुनै शुल्क बुझाउनु पर्दैन । यसअघि भारतीय गाडीले २४ घण्टासम्म नेपालको सीमाभित्र सवारी सञ्चालन गर्न दैनिक रु पाँच सय तिरेर अस्थायी अनुमतिपत्र लिनुपर्थ्यो ।

मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले भारतीय नम्बर प्लेटका निजी प्रयोजनका सवारीसाधनले नेपालसँगको सीमा नाघेर धुलाबारी बजारसम्म आउन ‘सुविधा पास’ पाउँदा नेपाली बजारमा चहलपहल बढ्ने बताए । 
‘पहिले यस्तो सुविधा पास दिने व्यवस्था हुँदा हाम्रो व्यापार व्यवसाय र पर्यटन फस्टाएको थियो’, मेची भन्सार एजेन्ट संघका अध्यक्षसमेत रहेका निरौलाले भने, ‘सुस्ताउँदै गएको हाम्रो सीमावर्ती काँकरभिट्टा, इँटाभट्टा र धुलाबारीमा भारतीय पर्यटक र व्यवसायीको सहज आवागमनले बजार चलायमान हुने अपेक्षा गरेका छौँ ।’ रासस

salt training

कमेन्ट गर्नुहोस्