
संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बुवाछोरा बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवै जना सोमवार दिउँसो आफ्नै गाडी लिएर सभाखोला गएका थिए । उनीहरू घर नफर्किएपछि मंगलवार आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
बेपत्ता बुवाछोराको खोजी भइरहेको गोदारले बताए । प्रदेश १–०२–००२ च ५९२० नम्बरको जीप, कपडा, जुत्ता, मोबाइल, साबुन लगायत सामग्री सभाखोला किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजी गर्न २ प्रहरी निरीक्षकको नेतृत्वमा विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरिएको गोदारले बताए । बेपत्ता तारानाथ अरुण तेस्रो आयोजनामा सवारी चालकका रूपमा कार्यरत थिए ।