२९ जेठ २०८३, शुक्रबार

वडा सदस्य थापाद्वारा दशैं भत्ताको रकमबाट बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई कपडा

वडा सदस्य थापाद्वारा दशैं भत्ताको रकमबाट बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई कपडा
सांकेतिक तस्वीर

स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले विभिन्न शीर्षकमा भत्ता पाउने गरेका छन् । 

भरतपुर महानगरपालिकाका एक वडासदस्यले मात्रै दशैं अगाडि प्राप्त गरेको झण्डै रु ४० हजार भत्ता सामाजिक काममा लगाएका छन् ।

वडा नं १० का सदस्य रेशमराज थापा (ऋषि) ले प्राप्त भत्तालाई पहिलोपटक शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गर्दै मङ्गलबार नारायणी माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई लत्ताकपडा उपलब्ध गराए ।

बालबालिकालाई टिसर्ट, पाइन्ट र जुत्ता प्रदान गर्दै उहाँले शिक्षा र स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता भएकाले आफ्नै वडाभित्रको विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई सहयोग गरिएको बताए ।

“यो मेरो शुरूआत मात्रै हो, मैले पाँच वर्षसम्म जे जति भत्ता पाउँछु सबै रकम यसरी नै शिक्षा र स्वास्थ्यमा खर्च गरेर सहयोग गर्नेछु”, वडासदस्य थापाले भने, “दशैंको बीचमा कार्यक्रम गरिएकाले धेरै विद्यार्थी समेट्न सकिएन तर आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछु ।” 

उनले उक्त विद्यालयका विद्यार्थीका साथै भरतपुरमा ठेला व्यवसाय गरी छोराछोरी पढाइ रहेका अभिभावकलाई पनि कपडा सहयोग गरे ।

दशैंमा नयाँ कपडा पाएपछि बालबालिकाको मुहारमा खुसी छाएको थियो ।

उक्त विद्यालयका अध्यक्ष टेकबहादुर गुरुङले युवा जनप्रतिनिधिको सकारात्मक कार्यले थप ऊर्जा मिलेको बताए ।

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई घरपरिवारले समेत माया नगर्ने गरेको भन्दै उनले जनप्रतिनिधिले दिएको सहयोगले विद्यार्थीलाई हौसला मिलेको छ, भने ।

salt training

कमेन्ट गर्नुहोस्