
काठमाडौं, २० साउन — कपिल शर्माले आफ्नो स्वास्थ्य र शोको घट्दो टीआरपीका सम्बन्धमा प्रस्ट कुरा गरेका छन् ।

एउटा पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले अनेकौं खुलासा गरेका छन् ।
कपिलले आफू लो ब्लड प्रेसरको समस्यासँग जुधिरहेको बताएका छन् । ‘केही महिनादेखि म शो र नयाँ फिल्म फिरंगीको शूटिङमा व्यस्त रहें । त्यसैले ब्लड प्रेसरको समस्या आइलाग्यो । अहिले चाहिँ मेरो स्वास्थ्य सुध्रिरहेको छ ।’
उनले 'द कपिल शर्मा शो'को सेटमा कलाकारहरूलाई कुराएको खबरलाई पनि गलत बताए । ‘मैले कसैलाई कुराएको छैन । म कहिले पनि यसो गर्दिनँ । मलाई चिन्ने मान्छेलाई यो थाहा छ । मान्छेहरू मलाई नखरेबाज भन्छन् तर त्यो सही होइन । मानिसहरू किन मेरो बारेमा नकारात्मक कुरा गर्छन् कुन्नि ?’ उनले भने ।
टीआरपीका सम्बन्धमा उनले भने, ‘मलाई टीआरपीको कुनै दबाब छैन । सोनी च्यानलले मलाई केही भनेको छैन । हाम्रो शो बन्द हुने कुरै छैन । म डिप्रेसनमा परेको छैन ।’
कपिलको शो त जसोतसो चल्दैछ । तर सुनिल ग्रोभरको करीयरमा चाहिँ कपिलसँग छुट्टिएपछि गहिरो असर परेको छ ।
सुनिललाई धेरै शोको प्रस्ताव आएको थियो । तर उनी कुनै पनि शोमा जोडिन सकेनन् । सुनिललाई खासमा एक्लै अफर आउँदैन, पूरै टीमसँग पर्फम गर्ने अफर आउँछ । जसरी उनी कपिलको शोमा टीमसँग पर्फम गर्थे, त्यसैगरी गर्न अफर आउँछ ।
कपिलसँग छुट्टिएपछि सुनिलले खासै प्रगति गर्न नसकेपछि फेरि उनकै शोमा फर्कने सम्भावना छ ।
एजेन्सी