
काठमाडौं, २१ पुस — पूर्व राजा ज्ञानेन्द्र शाहाकी छोरी प्रेरणाले दाइजो दाबी गरेको १५ रोपनी जग्गा सर्वोच्च अदालतले सरकारी भएको फैसला सुनाएको छ ।
यस अघि सर्वोच्च अदालतलेनै उनको नाममा सो जग्गा कायम गराइदिएको थियो । गणतन्त्र स्थापनासँगै राजपरिवारको नाममा रहेको जग्गाा सरकारी बनाउने घोषणा भएको थियो ।
तर प्रेरणाले सो जग्गा आफूलाई दाइजो आएको भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । प्रेरणाको रिटमा पूर्व प्रधानन्यायधिश रामकुमार प्रसाद शाहले फैसला गर्दै प्रेरणाकै नाममा जग्गा कायम गराइदिएका थिए ।
तर सो जग्गा माथिको आज पुनरावलोकन मुद्दामा आदेश दिँदै प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश द्वय दीपक कार्की र सपना प्रधान मल्लले जग्गा सरकारी भएको आदेश दिएका हुन् ।
गणतन्त्र स्थापना भएसँगै राजपरिवारको नाममा रहेको सबै जग्गा नेपाल ट्रस्टमा कायम गरेर सरकारी बनाउने निर्णय भएको थियो । सोही अनुसार काठमाडौंको छाउनीमा प्रेरणाको नाममा रहेको १५ रोपनी जग्गामा पनि सरकारी भएको थियो ।
तर प्रेरणाले सर्वोच्चमा रिट हालेसँगै उनको पक्षमा फैसला हुँदा उनी जग्गाको मालिक बनेकी थिइन् । तर सोही मुद्दामा पुनरवालोकन गर्दै सर्वोच्चले मुद्दा उल्टाएको हो ।
अब जग्गा सरकारको नाममा कायम भएको अधिवक्ता रामहरि त्रिपाठीले बताए । सो मुद्दामा नेपाल ट्रस्टको तर्फबाट अधिवक्ता अस्मिन कुमार राई र सुदर्शन थपलियाले बहस गरेका थिए ।