१६ असार २०८३, मंगलबार

राप्तीको बाढीले ३०० बढी घर डुबायो

राप्तीको बाढीले ३०० बढी घर डुबायो
प्रतिकात्मक तस्वीर

अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका ३०० भन्दा बढी घर डुबानमा परेका छन् ।

अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँकेको डुडुवा गाउँपालिका–१ अन्तर्गत चौफेरी, कृषि चौफेरी र पाझा गाउँका ३०० भन्दा बढी घर डुबानमा परेका छन् । 

बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताए । राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरू त्रसित भएका छन् । घरभित्र पानी पसेपछि स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन् ।

अत्यावश्यक सामाग्री लिएर स्थानीयहरू आश्रयस्थलमा बसिरहेका गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ ।

अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले ६ दशमलव ६३ मिटर पार गरेको छ । राप्तीनदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । 

अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्नसक्ने जिल्ला आतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । राप्तीनदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दीगाउँ लगायत स्थानमा बाढी आउँछ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नदी तटीय क्षेत्रका वासिन्दालाई उच्च सतर्कता अपनाउन सूचनामार्फत् आग्रह गरेको छ ।

बाढी र डुबान शुरू भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारणहरू अहिले त्रसित छन् । 

salt training

कमेन्ट गर्नुहोस्