१२ असार २०८३, शुक्रबार

उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात, जोखिमलाई ख्याल गर्दै हेलिकप्टर ‘हाई अलर्ट’

उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात, जोखिमलाई ख्याल गर्दै हेलिकप्टर ‘हाई अलर्ट’
प्रतिकात्मक तस्वीर

उत्तरी गोरखामा हिमपात शुरू भएको छ । लगातारको वर्षाले चिसो बढेसँगै चुमनुब्री गाउँपालिकाको सामागाउँ लगायतका क्षेत्रमा हिमपात शुरू भएको हो ।

असोज महिनाको तेस्रो हप्ता शुरू भएसँगै यो वर्ष पहिलो पटक उत्तरी गोरखामा हिमपात भएको हो ।

हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताए ।

‘सामागाउँमा आज अपराह्नपछि हिमपात शुरू भएको हो,’ उनले भने, ‘हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।’

हिमपातका कारण मनास्लु हिमाल आरोही र आरोहीका सहयोगीलाई समस्या पर्नसक्ने भन्दै सामागाउँमा अहिले ३ वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको उनले बताए ।

‘मनास्लु हिमालको आरोहणमा रहेका आरोहीलाई कुनै पनि बेला समस्या पर्नसक्ने सम्भावना छ,’ उनले भने, ‘सम्भावित जोखिमपूर्ण परिस्थितिलाई ध्यानमा राखेर हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको छ ।’

सामागाउँमा कैलाश, सिम्रिक र एभरेस्ट एयरका १/१ वटा हेलिकप्टर तयारी अवस्थामा राखिएका उनको भनाइ छ । यो वर्ष अहिलेसम्मकै अत्यधिक पर्यटक मनास्लु हिमाल आधार शिविरमा पुगेका छन् ।

गोरखा प्रहरीका अनुसार हिजोसम्म ३६६ जना हिमालको आधार शिविरमा नै रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन मौसममा परिवर्तन हुने भन्दै उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने तथा हिमाल आरोहणका लागि पुगेकालाई सतर्कता अपनाउन भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्