नेकपा एमालेले सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभामा मानवीर राईलाई उम्मेदवार बनाउने भएको छ । केन्द्रीय सदस्यसमेत रहेका उनको नाम जिल्लाबाट सर्वसम्मत सिफारिस भएको थियो । केन्द्रले पनि राईलाई नै प्रत्यक्षतर्फ उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सोलुखुम्बुमा एउटा मात्र निर्वाचन क्षेत्र छ । यसअघि २०७४ सालमा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हेमकुमार राई विजयी बनेका थिए ।
प्रदेश सभामा भने एमालेले पुरानै उम्मेदवारहरूलाई निरन्तरता दिएको छ । प्रदेश (क) मा उत्तमकुमार बस्नेत, र (ख)मा बुद्धिकुमार राजभण्डारीलाई टिकट दिने निर्णय भएको एमाले स्रोतले जनाएको छ । उनीहरू २०७४ सालमा वाम गठबन्धनबाट विजयी बनेका थिए ।
प्रदेश सभामा निर्वाचित भएपछि राजभण्डारी एमाले प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक बनेका थिए भने बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेका थिए ।