१० असार २०८३, बुधबार

बेमौसमी वर्षाले जलविद्युत्, सडक र कृषिमा क्षति

बेमौसमी वर्षाले जलविद्युत्, सडक र कृषिमा क्षति

विगत ५ दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादशैं निरसिलो बनेको छ । 

लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवन समेत अस्तव्यस्त बनेको छ ।

वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो आउँदा स्थानीय त्रस्त भएका छन् भने दशैं मनाउन आफन्तकोमा जाने आउने सर्वसाधारण घरभित्र नै गुम्सिएर बस्न बाध्य भएका छन् । बेमौसमी वर्षापछि आएको बाढीले जिल्लाको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको ३५ किलोवाट क्षमताको इङ्लेखोला लघु जलविद्युत्को मुहान बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । 

लघु जलविद्युत् अवरुद्ध भएसँगै गुर्जामा रहेका २६५ घरधुरी अन्धकार बनेका छन् । केन्द्रीय विद्युतको पहुँच नपुगेको र लघु जलविद्युत् अवरुद्ध बनेसँगै स्थानीयले रातमा बत्ति बाल्न पाएका छैनन् भने सञ्चार सम्पर्क समेत विच्छेद भएको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

वर्षा रोकिएपछि मात्रै बाढीले पुर्‍याएको क्षतिको यकिन हुने जनाइएको छ । म्याग्दीमा सडक सञ्जालले नजोडिएको १ मात्रै वडा गुर्जा भौगोलिक रूपमा विकट छ । ४ दिनदेखिको वर्षाका कारण जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् ।

ठाउँठाउँमा खसेको पहिराका कारण जिल्ला सदरमुकाम बेनीदेखि बेनी–दरबाङ र बेनी–जोमसोम सडक अवरुद्ध भएका छन् ।

जिल्लाका लेकाली क्षेत्रमा पहिलोपटक मध्य असोजमै हिमपात भएको छ । अविरल वर्षाका कारण बढेको चिसोसँगै गुर्जा गाउँको नजिकका डाँडामा शुक्रवार दिउँसोदेखि हिमपात भएको हो । असोज महिनामै हिमपात भएको यो पहिलो पटक भएको स्थानीयको भनाइ छ ।

गाउँ आसपासका डाँडामा हिमपातले सेताम्मे भएको वडाध्यक्ष छन्त्यालले बताए ।

‘गाउँ आसपासमा असोज महिनामै हिमपात भएको हामीले थाहा पाउँदासम्मकै पहिलो हो, वर्षा र हिमपातका कारण चिसो अत्यधिक बढेर जनजीवनमा असर पारेको बनाएको छ,’ उनले भने । – ध्रुवसागर शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्