०५ साउन २०८३, मंगलबार
एमालेको टिकट विवाद

घनश्याम भुसालद्वारा एमाले परित्याग

घनश्याम भुसालद्वारा एमाले परित्याग
फाइल फोटो

नेकपा एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् ।

एमालेले टिकट नदिएपछि भुसालले पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् ।

भुसालले फेसबूकमा लामो स्टाटस लेख्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

'ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,' भुसालले लेखेका छन् ।

पढ्नुहोस्, यो पनि :


हेर्नुहोस्, स्टाटस :

देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ । यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्‍यायो । नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो । तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्‍यो । त्यसपछि पार्टी संस्थागत रूपले गुटबन्दीको मैदान बन्दै गयो । आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरूमाथि योजनावद्ध आक्रमण बढ्दै गयो । र, अहिले यो पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुन:स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।
नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरूप्रति सदा मेरो ऐक्यबद्धता रहनेछ । राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु । कमरेडहरु ! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं ।

घनश्याम भुसाल
मणिग्राम, रुपन्देही
२०७९ असोज २२

salt training

कमेन्ट गर्नुहोस्