
काठमाडौं, २० साउन — भारतको संसदमा नेपालमाथि लगाइएको नाकाबन्दीबारे अहिलेसम्म पनि छलफल जारी रहेपनि नेपालमा यसबारे कुनै छलफल नभएको भन्दै सत्तारुढ नेपाली कांग्रेसका एक सांसदले सदनमा सभामुखको ध्यानाकर्षण गराएका छन् ।

व्यबस्थापिका संसदको शुक्रवार बसेको बैठकमा कांग्रेस सांसद चन्द्र भण्डारीले नाकाबन्दीबारे संसदमा छलफल गर्न नसक्नु विडम्बना भएको बताएका हुन् ।
‘मैले हिजो साझ भारतको संसद बैठकको प्रत्यक्ष प्रशारण हेरिरहेको थिए, जहाँ विपक्षी दलका सांसदले नेपाललाई किन नाकाबन्दी लगाइयो भनेर प्रश्न गरेका थिए । विदेश मन्त्रीको जवाफ थियो, तिमीहरु कांग्रेसको पालमा पनि लागेको थियो भनेर जवाफ दिइन’ भण्डारीले भने, ‘तर हाम्रो व्यबस्थापिका संसद नाकाबन्दी लगाउदा हाम्रो संसद छलफलको थलो हुन सकेन, हाम्रो भूमिका तलव भत्ता खाने मात्र भयौं ।’
भण्डारीले संसदलाई महत्वपूर्ण मुद्दामा छलफल गर्नुपर्नेमा सांसदहरु नै ठेकेदार, शिक्षण संस्था संचालक र वकिलको रुपमा विचौलिया भएको टिप्पणी गरे ।