भक्तपुर, २१ साउन - प्राविधिकहरूले भूकम्पपछि निजी आवासको पुनर्निर्माण ‘डरलाग्दो' देखिएको बताएका छन्। घर पुनर्निर्माणमा गुणस्तर र भूकम्प प्रतिरोधात्मक क्षमताको अवस्था दयनीय भएको उनीहरूको भनाइ छ।

मेथड कन्सल्टेन्टद्वारा शुक्रबार आयोजित कार्यक्रममा सहभागी प्राविधिकले घरधनी सचेत नहुँदा गुणस्तरहीन घर तथा भवन निर्माण भइरहेको बताएका हुन्। मेथडका प्रबन्ध निर्देशक इन्जिनियर तुलसीलाल बासुकलाले भूकम्पपछि पुनर्निर्माणका नाममा ‘माटोमाथि ढलान घर ठडिँदै' आएको बताए। ‘माटो सिमेन्टको शत्रु हो। तर, हिलो, पानी नभनी सिमेन्ट, गिटी, छड, बालुवालगायत प्रयोग गरी धमाधम घर बनिरहेका छन्', उनले भने, ‘यस्तो असुरक्षित तरिकाले बनेका घर २० वर्ष टिक्नै मुस्किल हुन्छ।'
उनका अनुसार सिमेन्टको आयु ५० वर्ष मानिन्छ। तर, बजारमा गुणस्तरीय सिमेन्ट पाउनै मुस्किल छ। त्यसमाथि ताजा सिमेन्ट बजारमा नपाइने उनको भनाइ थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।