
संसारका सबभन्दा धनी व्यक्ति इलोन मस्कले युक्रेनका शत्रुहरूको सूची राख्ने एक विवादास्पद वेबसाइटका विषयमा चिन्ता व्यक्त गरेका छन् ।
मिरोट्भोरेट्स नामक साइटमा केही समयका लागि मस्कको पनि नाम देखिएको भनी दाबी गरिएपछि उनले प्रतिक्रिया जनाएका हुन् । मस्कको स्टारलिंक भूउपग्रहीय इन्टरनेट सेवाले युक्रेनका लागि लगानी कटौती गर्ने भनी धम्की दिएपछि उनलाई युक्रेनको शत्रुको सूचीमा राखिएको बताइएको थियो ।
युक्रेनी सैनिकहरूले सञ्चारका लागि सक्रिय रूपमा स्टारलिंक इन्टरनेट सेवा उपयोग गर्ने गरेका छन् ।
‘यो सूची वास्तविक हो ? के हो यसको यूआरएल ?’ मस्कले स्वतन्त्र पत्रकार इभा बार्टलेटको एक स्क्रीनशटलाई शेयर गर्दै ट्वीट गरे । शुक्रवार शेयर गरिएको उक्त स्क्रीनशटमा मस्कको नाम पनि डेटाबेसमा राखिएको दाबी गरिएको थियो ।
‘मैले यस सूचीका बारेमा वर्षौंदेखि बोल्ने र लेख्ने काम गरिरहेकी छु,’ बार्टलेटले लेखिन् । ‘सन् २०१९ मा यसलाई राखिएको थियो तर अहिले रोजर वाटर्स र अन्यसँगै मस्कको पनि नाम यसमा छ । शायद शान्तिका समर्थकहरूको यो सूची आफैं मर्नेछ ।’
उक्त वेबसाइटमा मस्कको नाम शनिवारसम्ममा हटाइसकिएको थियो । मिरोट्भोरेट्समा मस्कको नाम आएको थियो कि थिएन भन्ने नै स्पष्ट छैन ।
केही समाचारहरूमा उल्लेख भएअनुसार, मस्कको प्रोफाइल डेटाबेसबाट तत्कालै मेटाइएको थियो ।
युक्रेनी अभियन्ताहरूले चाहिँ त्यो झूटो तस्वीर भएको र यो सब रुसीहरूको उत्तेजनात्मक कदम भएको दाबी गरे ।
मिरोट्भेरोट्सका बारेमा सुन्दै नसुनेको भनी मस्कले बताउँदा उनका फलोअरहरू आश्चर्यचकित भए । उक्त विवादास्पद वेबसाइटमा प्रख्यात सार्वजनिक व्यक्तिहरूको नाम राखिएको उदाहरण उनीहरूले मस्कलाई दिए ।
सूचीमा भएकामध्ये कतिपयलाई ‘सफाया गरिएको’ भनी लेखिएको छ ।
मस्कले यसका बारेमा विकिपिडियामा हेर्दा त्यो अझै रहेको अनि सन् २०१४ देखि नै त्यसको अस्तित्व रहेको थाहा पाए । यो चिन्ताजनक विषय भएको भनी उनले टिप्पणी गरे ।