
रुस–युक्रेन द्वन्द्वका कारण ऊर्जाको मूल्य बढिरहेको अनि महंगी चर्किएको स्थितिमा जर्मनीका धेरै अस्पतालहरू टाट पल्टिन लागेको त्यहाँका स्वास्थ्यमन्त्री कार्ल लोटरबाखले बताएका छन् ।
‘हामीले तत्कालै र सशक्त हस्तक्षेप नगरेमा अस्पतालहरू बन्द हुनेछन्,’ लाउटरबाखले एआरडी टीभीलाई बताए । सम्भावित संकटको विशालतको मूल्यांकन गर्न उनले चाहेनन् तर आगामी केही महिनामा अस्पतालहरूमा तरलताको अभाव हुनेछ, उनले थपे ।
सन् २०२२ र २०२३ मा अस्पतालहरूमा लगभग १५ अर्ब युरो लगानीको अभाव हुन सक्ने गुनासो अघिल्लो साता जर्मन अस्पताल महासंघले गरेको थियो । तर लाउटरबाखले त्यस अनुमानलाई महत्त्व दिएनन् । अर्को वर्ष बिजुलीको मूल्य कति निर्धारित हुन्छ भनी कसैले भन्न नसक्ने उनको भनाइ छ ।
तर ऊर्जाको बढेको मूल्यले उक्त रकमको लगभग एक तिहाइ भाग समेट्ने महासंघले जनाएको छ ।
सरकारले अस्पतालहरूलाई सञ्चालनमा राखिरहनका लागि विशेया संघीय कोष बनाउने कदम हालका लागि स्थगित गरेको छ ।