
चितवनको सौराहामा इँटा उद्योग कामदार समितिको राष्ट्रिय सम्मेलन सुरु भएको छ । आइतबारदेखि सुरु भएको सम्मेलनको सोमबार बिहान उद्घाटन गरिएको छ ।
सम्मेलनको आयोजक संस्था ग्लोबल फेयरनेश इनिसियटिभ काठमाडौँकाअनुसार सम्मेलनमा ४० उद्योगमा कार्यरत विभिन्न १८ जिल्लाका १०८ जनाको सहभागिता रहेको छ । ‘कामदारमैत्री उद्योग, उद्योगमैत्री स्थानीय शासन र नीति’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलन कात्तिक २ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका राष्ट्रिय निर्देशक सुरेश पण्डितले जानकारी दिए ।
ग्लोबल फेयरनेश इनिसियटिभले सन् २०१४ देखि ‘बेटर ब्रिक नेपाल’ परियोजना सञ्चालन गरेर इँटा उद्योगमा काम गर्ने कामदारहरुको श्रमसँग सम्बन्धित विभिन्न पाँच वटा मुद्दाहरुमा काम गर्दै आएको पण्डितले बताए । कामदारको श्रमसँग सम्बन्धित मुद्दालाई सम्बोधन गर्दै इँटा उद्योगको रुपान्तरण, बालश्रम निषेध, श्रमिकको बालबालिकाको शिक्षा, बाध्यात्मक श्रम निषेध तथा कामदार र उद्योगीको व्यवहारसहितका मुद्दाहरुमा काम गर्दै आइरहेको पण्डितको भनाइ छ ।
इँटा उद्योगको गुणस्तरमा विकास, धुवाँ उत्सर्जनको नियन्त्रणमा टेवा पु¥याउन प्रदूषण मापन तथा मापदण्ड भित्र राख्न लगाउने, रोजगारदाता र श्रमिकको सम्बन्ध सुधारमा काम गर्ने सरकारी ऐनको कार्यान्वयन र पालना गराउने लगायतका विषयमा ग्लोबल फेयरनेश इनिसियटिभले काम गर्दै आएको छ ।
इँटा उद्योगको श्रमिकहरुको राष्ट्रिय सरोकार परिषद् निर्माण गरिएको, इँटा उद्योग सञ्जाल गठन भएको त्यस्तै, इँटा उद्योगको अुनगमन र निर्देशन गर्दै समस्याहरु राष्ट्रिय स्तरमा लैजाने र समाधान गर्ने काम भइरहेको पण्डितको भनाइ छ । परियोजना सञ्चालनमा आएपछि उद्योगहरुमा ३४ वटा इसीइसी केन्द्र सञ्चालन गरेर दुई हजार ९२३ जना तीन वर्षमुनिका बालबालिकालाई अध्ययन गराएको, हालसम्म एक हजार ८२९ जना बालबालिकालाई विद्यालय पठाएको पण्डितले बताउनुभयो । त्यस्तै, १५६ वटा बालश्रम मुद्दा समाधान गरिएको, २३ हजार १३८ जना कामदारलाई गुणस्तर तथा श्रम विषयमा तालिम प्रदान गरिएको पण्डितको भनाइ छ ।