
अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा चालू आर्थिक वर्षको ३ महिनामा २७ लाख १८ हजार रुपैयाँ भेटी संकलन भएको छ ।
लुम्बिनी विकास कोषले आइतवार र सोमवार गरी २ दिनसम्म आन्तरिक तथा बाह्य पर्यटकबाट दानपेटिकामा संकलन भएको भेटीको गणना गरेको थियो ।
पहिलो दिन १० लाख ८१ हजार र दोस्रो दिन सोमबार १६ लाख ३६ हजार गरी २७ लाख १८ हजार रुपैयाँ भेटी बापत दान संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
कोषाध्यक्ष भट्टराईको नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितिमा आइतवार दानपेटिका खोलिएको थियो ।
मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको भेटीको २४ जनाको टोलीले गणना गरेको थियो ।
तीन दिन लाग्ने अनुमान गरिएपनि २ दिनमै भेटीको गणना सकिएको कोषाध्यक्ष भट्टराईले बताए ।
सिसी क्यामेरा जडान गरी गणनालाई पारदर्शी बनाइएको कोषले जनाएको छ ।
यसअघि गत असार १९ गते दानपेटिका खोलिएको थियो ।
लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रुपमा दानलाई लिने गरिएको छ ।