०७ असार २०८३, आइतबार

खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

कात्तिक ३, २०७९
खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले विभिन्न सीमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताए । चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुदलगायत प्रतियोगिता नियमित तवरमा आयोजना हुने विश्वास व्यक्त गरे ।
    
राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेलकौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले भने, “यसले हाम्रा खेलाडीको खेल कौशललाई थप निखार्दै अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा मुलुकको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्छ । अतः यो निश्चित समयको अन्तरालमा नियमित तवरमा भइरहनु आवश्यक हुन्छ ।”
    
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल र सहभागी खेलाडी सङ्ख्याका आधारमा नेपाली खेलकुद इतिहासमा हालसम्मकै ठूलो प्रतियोगिता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, “प्रतियोगितामा दुई प्रदर्शन खेलसँगै ३६ वटा खेल समावेश गरिएको थियो । छ हजारभन्दा बढी खेलाडीले चार सय सात स्वर्णलगायत पदकका लागि प्रतिष्पर्धा गरेका थिए ।”
    
प्रतियोगिताको दौरानमा हाम्रा राष्ट्रिय खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै कतिपय विधामा नयाँ राष्ट्रिय कीर्तिमानसमेत राख्न सफल भएको उनले बताए । 

प्रतियोगिताको समाप्तीसँगै यसका क्रममा सिकिएका शिक्षाबाट कमजोर पक्षलाई आगामी दिनमा सुधार गर्नेगरी अघि बढ्न आवश्यक भएको उनले बताए। खेलकुदलाई गाउँघरदेखि सहर बजारसम्म अझ लोकप्रिय बनाउँदै आम जनमानसको पहुँचसम्म पु¥याउन मद्दत गर्ने यस किसिमको प्रतियेगिताले देशमा खेल, भावना, सद्भाव बढाउन मद्दत गर्ने बताउँदै उहाँले सबैमा खेलकुदको महत्व र उपयोगिताबारे समाचार सम्प्रेषण गर्दै स्वास्थ्य र अनुशासित जीवनको सन्देशसमेत दिने उल्लेख गरे ।
    

कमेन्ट गर्नुहोस्