
चर्चित अभिनेता रामचन्द्र अधिकारी ‘काजी बा’को स्वास्थ्यमा सुधार आएको छ । उनी निमोनियाका कारण दुई सातादेखि चावहिलस्थित मेडीकेयर अस्पतालमा उपचाररत छन् ।
स्वास्थ्यमा सुधार आएपछि अधिकारी शनिवार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । परिवारलाई उदृत गर्दै नेपाल चलचित्र कलाकार संघले यसबारे जानकारी दिएको हो । हास्य अभिनेता केदार घिमिरेले पनि शुक्रवार उपचाररत अधिकारीलाई भेटेका छन् । केदारले पनि उनी भोली अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् ।
उपचाररत अभिनेता अधिकारीबारे विभिन्न अफवाह सामाजिक सञ्जालमा फैलिएको भन्दै कलाकार संघले खेद प्रकट गरेको छ । संघले विज्ञप्ति जारी गर्दै भ्रामक र कपोलकल्पित हल्लाप्रति जनमानसलाई भ्रममा नपर्न पनि आग्रह गरेको छ ।
रामचन्द्र अधिकारी नेपाली कलाकारिता क्षेत्रका चर्चित कलाकार हुन् । थुप्रै चलचित्र, टेलिसिरियल, म्युजिक भिडियो एवं विज्ञापनहरूमा उनले अभिनय गरेका छन् । उनलाई दर्शकले ‘काजी बा’का रूपमा समेत चिन्दै आएका छन् ।
