रुस–युक्रेन द्वन्द्व आठ महिनादेखि चलिरहेकोमा रुसले युद्धमा इरानी हतियार पनि उपयोग गर्न थालेको छ ।
यसैबीच क्राइमियामा इरानी सैनिकहरूले रुसी सैनिकहरूलाई युद्ध लड्ने तालिम दिइरहेको अमेरिकाले दाबी गरेको छ ।
ह्वाइट हाउसले बयान जारी गरेर बतायो, ‘इरानी सैनिकहरूले रुसी सैनिकहरूलाई ड्रोन चलाउन सिकाइरहेका छन् । त्यसपछि नै युक्रेनमाथिको आक्रमण चर्किएको हो ।’
इरानले रुसलाई कामिकाजे ड्रोन उपलब्ध गराएको छ ।
अमेरिकाको रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले बताए, ‘क्राइमियामा इरानी सैनिकहरूको उपस्थिति हुनु भनेको इरान युद्धमा संलग्न रहनुको प्रमाण हो । उनीहरू युक्रेनका नागरिक र भौतिक संरचनामा ड्रोन आक्रमण गर्न रुसलाई सहयोग गरिरहेका छन् ।’
रुसले चार दिनअघि इरानी कामिकाजे ड्रोनबाट युक्रेनको राजधानी किभएमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा तीनजनाको मृत्यु भएको थियो ।
आक्रमणमा उपयोग गरिएको ड्रोनको नाम शाहिद–१३६ थियो । त्यसलाई सुसाइड ड्रोन पनि भनिन्छ ।
यसको तौल २०० किलो छ र २५ सय किलोमिटरको दायरामा यसले आक्रमण गर्न सक्छ ।