०२ साउन २०८३, शनिबार
फिफा विश्वकप–२०२६

सञ्चारकर्मीलाई रोनाल्डोले भने- अनावश्यक प्रश्नमा समय बर्बाद नगर्नुस्, यो नै मेरो अन्तिम विश्वकप हो

असार २२, २०८३
काठमाडौं
सञ्चारकर्मीलाई रोनाल्डोले भने- अनावश्यक प्रश्नमा समय बर्बाद नगर्नुस्, यो नै मेरो अन्तिम विश्वकप हो

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले उत्तर अमेरिकामा जारी संस्करण नै आफ्नो खेलजीवनको अन्तिम विश्वकप भएको पुष्टि गरेका छन् ।

स्पेनविरुद्धको महत्त्वपूर्ण खेलअघि आयोजित पत्रकार सम्मेलनमा ४१ वर्षीय रोनाल्डोले यस्तो घोषणा गरेका हुन् । रोनाल्डोको यो छैटौं विश्वकप सहभागिता हो ।

जारी विश्वकपमा मंगलबार राति ००:४५ बजे रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले अन्तिम–१६ टोलीबीचको भिडन्तमा बलियो प्रतिद्वन्द्वी स्पेनको सामना गर्दैछ ।

अमेरिकाको डालासमा हुने यो खेलको पूर्वसन्ध्यामा रोनाल्डोले भने, ‘यो मेरो अन्तिम विश्वकप हो । त्यसैले म यो विश्वकपको बढीभन्दा बढी आनन्द लिन चाहन्छु ।’

यद्यपि, समकालीन विश्व फुटबलका यी महान खेलाडीले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा अन्तिम–१६ मै समाप्त नहोस् भन्ने कामना पनि गरेका छन् ।

विश्वकपपछि आफ्नो सन्न्यासका बारेमा भइरहेका चर्चा र प्रश्नहरूमा रोनाल्डो केही आक्रोशित पनि देखिएका छन् ।

सन्न्यासका बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘म जब चाहन्छु, तब सन्न्यास लिन्छु । तपाईंहरूले भनेको आधारमा मैले सन्न्यास लिने होइन । यसबारे धेरै प्रश्न सोधेर आफ्नो समय बर्बाद नगर्नुस् ।’

पत्रकार सम्मेलनमा लामो समयदेखि आफूविरुद्ध नकारात्मक टिप्पणी गर्दै आएका एक पत्रकारसँग पनि उनी केही कडा रूपमा प्रस्तुत भए ।

उनले भने, ‘तपाईंले पछिल्लो २३ वर्षदेखि मलाई सिध्याउने प्रयास गरिरहनुभएको छ । तर, तपाईंले बुझ्नुपर्छ कि यो समयको बर्बादीमात्र हो ।’

फुटबल इतिहासका सर्वोत्कृष्ट खेलाडीमध्ये एक मानिने रोनाल्डोले पोर्चुगललाई सन् २०१६ को युरो कप तथा सन् २०१९ र २०२५ को यूईएफए नेसन्स लिगको उपाधि दिलाएका छन् ।

विश्वकपको इतिहासमा ६ वटा फरक–फरक संस्करणमा गोल गर्ने उनी पहिलो पुरुष खेलाडी हुन् । हालसम्म उनले आफ्नो करियरमा नौ सय ७६ गोल गरिसकेका छन् ।

सन् २००६ मा म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक खेल शुरू गरेका रोनाल्डो रियल म्याड्रिड, युभेन्टस, स्पोर्टिङ सीपी हुँदै हाल साउदी प्रो लिगको अल–नासरबाट खेलिरहेका छन् ।

गत सिजन उनले अल–नासरलाई केएसए (साउदी) लिगको उपाधिसमेत जिताएका थिए । 

मंगलबार हुने खेलमा पोर्चुगलले स्पेनको सामना गर्दैछ ।

सन् २०१८ को विश्वकपमा यी दुई टोलीबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको थियो । त्यो खेलमा रोनाल्डोले ह्याट्रिक पनि गरेका थिए ।

आफूमाथि भइरहेको आलोचनाको जवाफ दिँदै उनले भने, ‘मैले आफ्नो खेलमा नराम्रो गरेकोजस्तो लाग्दैन । मैले तीन गोल गरिसकेको छु । अरू खेलाडीहरूले धेरै गोल गरेका होलान् किनभने उनीहरू राम्रो लयमा छन् ।’

आफ्नो भविष्यभन्दा पनि टोलीको प्रदर्शनलाई नै रोनाल्डोले अहिले प्राथमिकतामा राखेका छन् । पोर्चुगलका समर्थकका लागि आफ्नो प्रिय खेलाडीको विश्वकप मञ्चको अन्तिम यात्रा कस्तो रहन्छ, त्यो भने हेर्न बाँकी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्